मेगा बैंक नेपालकाे ११औं वार्षिकोत्सव सम्पन्न
इन्भेष्टोपेपर । श्रावण ०७, २०७८
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ बर्ष पूरा गरी १२ बर्षमा प्रवेश गरेको छ । ११औं वार्षिकोत्सवका अवसरमा आगामी ५ बर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिनुभयो ।
अध्यक्ष शाहले भन्नुभयो– ‘राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, उर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रीत गर्छौं ।’
मेगा बैंकका अध्यक्ष शाहले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको जानकारी दिनुभयो ।
मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले संस्थापक, शेयरधनीहरु, संचालक समिति, ग्राहकहरु, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औं बार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताउनुभयो ।
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको ११ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा छ ।
२०७८ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । मेगा बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट देशभरका ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल, १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्शन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । छिट्टै नै बैंकका थप १४ वटा शाखाहरु सञ्चालनमा आँउने जानकारी गराइयाे ।
मेगा बैंक नेपाल लिमिटेडले ११औं बार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।
