नेपालमा नयाँ प्रजातिको चरा भेटियो
इन्भेष्टोपेपर । आश्विन ०६, २०७८
बेनी । हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो भेकमा नेपालमै पहिलो पटक नयाँ जातिको चरा भेटिएको छ । नेपालमा यसभन्दा पहिला कहिल्यै नदेखिएको चरा उपल्लो मुस्ताङमा देखिएको हो । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–केकिघाङमा युराेपियन राेलर नामक चरा भेटिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना जोमसोमका प्रमुख ऋषि बरालका अनुसार एक्याप इलाका संरक्षण कार्यालय, लोमन्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटर उचाइमा रहेको लोमन्थाङ गाउँपालिका–५, केकिघाङमा उक्त चराको तश्बिर खिच्नुुभएको थियो ।
बराल भन्नुहुन्छ– चरा भेटिएपछि तश्बिर खिचियो र थप पहिचानका लागि चराविद् डा. हेमसागर बराल र सोम जीसीलाई पठाउँदा उहाँहरूबाट युराेपियन राेलर नै भएको पुष्टि भएको हो।

चराविद् टिम इन्स्किप र क्याराेल इन्स्किपलाई थप पुष्टिका लागि पठाइएको र उहाँहरूले पनि युराेपियन राेलर भएको पुष्टि भएपछि हामीले नयाँ चरा पहिचान गराकोमा ढुक्क भयौँ, बरालको भनाइ छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र यसभन्दा पहिला विभिन्न पाँच सय १८ प्रजातिका चराहरू भेटिएकोमा अब एउटा थप भएको एक्याप जोमसोमका प्रमुख बरालको भनाइ छ । लोेमन्थाङ गाउँपालिका केकिघाङ क्षेत्रमा तीन दिनसम्म उक्त चरा देखिएको एक्याप जोमसोमका बरालले बताउनुभयो ।लोमन्थाङ गाउँपालिकाको छोजुङ गुम्बा पुग्ने वैकाल्पिक पदमार्ग अध्ययन गर्न स्थानीयसँग जाने क्रममा पहिलो पटक उक्त चरा भेटिएको थियो । (गाेरखापत्रबाट)
