बेमौसमको वर्षा : बिहीबारसम्म १०१ जनाकाे मृत्यु, ४१ जना अझै बेपत्ता
इन्भेष्टोपेपर । कार्तिक ५, २०७८
काठमाडौँ । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार दिउँसोसम्म विभिन्न जिल्लामा १०१ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ ।
यसैगरि बाढीपहिरोमा परी प्रदेशमा १ मा १३ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बाढीपहिरोमा परी प्रदेश १ मा ६० जना, बागमती प्रदेशमा एक जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १०१ जनाको मृत्यु भएको जनाएको हो । साथै प्रदेशमा १ मा १९ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढीको कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, आठ वटा गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । त्यस्तै बाढीपहिरोमा परि १३९ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ घर परिवार विस्थापित भएका छन् । (रासस)
