हरीबाेधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

इन्भेष्टोपेपर । कार्तिक २९, २०७८

काठमाडौँ ।  कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थान सहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वास छ । आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । 

उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचङ्गुनारायण र विशङ्खुनारायण मन्दिरमा भक्तजनको भीड लागेको छ । यी नारायण मन्दिरलाई चार नारायण भनिन्छ । चार नारायणको आज एकैदिन पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । यसैले टाढा टाढाबाट पनि भक्तजन सवारी साधन रिजर्भ गरेर चार नारायणको पूजाआजा एवं दर्शनमा भक्तजन आउँछन् ।

चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भेगस्थित बूढानीलकण्ठ नारायणस्थानमा गई पूजाआजा एवं दर्शन गरेमा मनकामना पूरा हुने विश्वास छ । बूढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु एवं शिवको मूर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको महन्त निगमानन्द स्वामीले राससलाई जानकारी दिनुभयो ।

नाराययणस्थानमा आज लाखौँ भक्तजनले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यहाँ  जलकुण्डमाथि भगवान् नारायण सुतेको अलौकिक मूर्ति छ । यो मूर्ति हेर्न आन्तरिकका साथै बाह्य पर्यटकको समेत भीड लाग्ने गर्छ ।

आषाढ शुक्ल एकादशीका दिन घरको मोठमा रोपी पूजा सुरु गरिएको तुलसीको विवाह आज दामोदरसँग गरिदिने प्रचलन छ । आज बिहानै वैदिक सनातन धर्मावलम्बीले स्नान गरी व्रत बस्छन् । आज चामलबाट बनेका परिकार नखाई फलाहार मात्र गर्ने गरिन्छ । आषाढ शुक्ल एकादशीदेखि पूजाआजा सुरु गरिएको तुलसीको मठमा विधिपूर्वक पूजासहित हवन गरेपछि चतुर्मास व्रत समाप्त हुने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । 

यसैगरी नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको नारायण मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको पुजारी शिवप्रसाद पौडेलले बताउनुभयो । यसैगरी नेपालीले आजै घर घरमा तुलसीको विशेष पूजा गर्दैछन् । आज विशेष पूजा गरी दामोदरसँग तुलसीको विवाह गरिन्छ । 

यस अवसरमा काठमाडौँको नागार्जुन नगरपालिकाले इचङ्गुनारायण मन्दिरमा विशेष मेला लाग्ने भन्दै नगरभर सार्वजनिक बिदा दिएको छ । बूढानीलकण्ठ र दक्षिणकाली नगरपालिकाले पनि आज सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *