एमाले १०औँ महाधिवेशन : घरघरमा निमन्त्रणापत्र

इन्भेष्टोपेपर । मंसिर ३, २०७८

चितवन ।  नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गर्न घरघरमा निमन्त्रणापत्र पठाइएको छ । एमाले चितवनले जिल्लाभरका प्रत्येक घरमा पु-याउने गरी निमन्त्रणापत्र पठाएको हो ।

दशौँ महाधिवेशन प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीका अनुसार एक लाख ५० हजार प्रति निमन्त्रणापत्र तयार पारेर जिल्लाका ९८ वटै वडामा पठाइएको छ । थप माग भएमा पठाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । वडा कमिटीहरूले भेला र बैठक गरेर निमन्त्रणापत्र वितरण सुरु गरिसकेको उहाँले बताउनुभयो ।

सुवेदीले भन्नुभयो, “पालिका, वडा र टोल कमिटी सक्रियरूपमा निमन्त्रणापत्र वितरण र प्रचार–प्रसारमा जुटेका छन् ।” प्रचारप्रसारका लागि स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेका छन् । उहाँले भन्नुभयो, “उद्घाटनसत्रमा सहभागी गराउन प्रत्येक घरमा निमन्त्रणापत्र नै पठाउन लागिएको हो ।”

उद्घाटन कार्यक्रममा एमाले कार्यकर्तामात्रै नभएर शुभेच्छुक, शुभचिन्तकलगायत आम सर्वसाधारणलाई उपस्थित गराउन सबैलाई निमन्त्रणा गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “चितवनबाट मात्रै उद्घाटनसत्रमा एक लाखभन्दा बढी जनसहभागिता गराउने तयारी गरिएको छ ।”

एमालेको १०औँ महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म यहाँ हुँदैछ । उद्घाटन कार्यक्रम नारायणगढस्थित नारायणी नदी किनारमा र बन्दसत्र सौराहास्थित होटल सेभेन स्टार परिसरमा हुने तय गरिएको छ ।

उद्घाटनसत्र हुने नारायणी नदी किनारमा मञ्च र अन्य व्यवस्थापनको काम सुरु भइसकेको छ । यस्तै बन्दसत्र हुने सौराहाको होटल सेभेन स्टार परिसरमा समेत बन्दसत्र गर्ने हल निर्माणलगायत अन्य काम सुरु भइसकेको अध्यक्ष रावलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधिको आवासका लागि क्षेत्रीय होटल सङ्घ सौराहासँग तीन हजार ५०० बेड सम्झौता गरिसकिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *