कविता : को मान्छे महान् ?
— कृष्णशरण उपाध्याय पौडेल
छन्द – वसन्ततिलका
मान्छे बनोस् सफल किन्तु धरा नबिर्सोस्
मान्छे बनोस् सबल किन्तु जरा नबिर्सोस्
टेक्ने धरा यदि भुले गति के हुने हो ?
अड्ने जरा यदि भुले अनि के हुने हो ?
मान्छे चिनिन्न उसको अनुहार द्वारा
जानिन्छ ऊ सहज मै व्यवहार द्वारा
बन्दैन मानव महान् स पद मा पुगेर
कौवा कहाँ गरुड बन्छ उँभो उडेर ?
मान्छे छ किन्तु उसको गुण छैन कत्ति
मायाँलु छैन र दया ( कण छैन रत्ति
यो हो पलास सरि फूल कुनै नवीन
हेर्दा छ सुन्दर परन्तु सुगन्धहीन
जो सन्त हुन्छ शय सन्त बनाइदिन्छ
हेमन्त मा पनि वसन्त जगाइदिन्छ
यौटा बली कन दियो शय अन्य बाल्छ
अज्ञान गाल्छ अनि रात-घना पगाल्छ
मान्छे न धीर हुन पुग्छ पढेर मात्र
मान्छे न वीर हुन पुग्छ लडेर मात्र
ऊ शुद्ध हुन्न कहिल्यै जल ले नुहाई
ऊ बुद्ध हुन्न करुणा र दया भगाई
सेवा गरी कन महान् हुन पुग्छ मान्छे
पीडा हरी कन महान् हुन पुग्छ मान्छे
सच्चा अनाथ निमुखा टुहुरा निमित्त
मायाँ दिई कन महान् हुन पुग्छ मान्छे
