आम्दानीको राम्रो स्रोत बन्दै गएपछि बट्टाईपालनमा बढ्दो आकर्षण

इन्भेष्टोपेपर । मंसिर १६, २०७८

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहनुभएको छ । उहाँले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लाग्नुभएको हो । 

उहाँले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आउनुभएको छ । बजारमा प्रतिअण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताउनुभयो । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उहाँले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आउनुभएको छ । 

राम्रो आम्दानीको स्रोतसँगै घरको सन्दर्यसमेत दिने भएकाले बट्टाई व्यवसायबाट आफू सुन्तुष्ट रहेको तामाङको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य जिल्लाबाट चल्ला ल्याउन पथ्र्यो । बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैँ हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु ।” तामाङ लामो समयसम्म मेकानिक क्षेत्रमा काम गरेकाले बट्ट्राईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक आफैँले बनाएको दाबीसमेत गर्नुभयो । 

कृषि क्षेत्रमा राम्रो सम्भावना देखिर फुङ्लिङ नगरपालिका–५ का डिल्ली लिम्बूले एक दशकदेखि सञ्चालन गर्दै आएको कपडा पसल बेचेर अहिले कृषि क्षेत्रमा रमाउन थाल्नुभएको छ । लिम्बूले पसल बेचेर फुङ्लिङ नगरपालिका–८ मा १०० रोपनी जग्गा खरिद गरेर व्यावसायिक रुपमा मुक्कुमलुङ मोल्टी कृषि फार्म स्थापन गरेसँगै बट्टाई पालन गर्दै आउनुभएको छ ।

लिम्बूले लोकल कुखुरा, कोरथनाथ कुखुरा, विभिन्न जातका बाख्रा, बङ्गुर, फलफूलतर्फ केरा, सन्तला, कागतीलागयत व्यावसायिक रुपमा उत्पादन गर्दै आउनुभएको छ । त्यसमध्ये बट्टाई पनि एक शाखाको रुपमा व्यावसायिक पालन गर्दै आएको उहाँले बताउनुभयो । अहिले र्फाममा ५०० को हाराहारीमा बट्टाई रहेको उहाँको भनाइ छ । दैनिक ९० भन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ । 

मासु र अण्डामा प्रोटिनको मात्रा प्रशस्त पाइने भएकाले बिक्री गर्न समस्या नरहेको उहाँको भनाइ छ । सानो क्षेत्रफलमा पालन गर्न सकिने र रोगको प्रकोप देखा नपर्ने हुँदा सहजरुपमा पालन गर्न सकिने भएकाले बट्टाईपालनप्रति किसानको आकर्षण बडेको प्रेमससिं तामाङले बताउनुभयो । “यो चरा चिसो मौसममा बढी बिक्री हुनेरहेछ । घरमै खानका लागि किन्ने धेरै आउँछन्”, उहाँले भन्नुभयो, “बजारको चिन्ता छैन । जति पाले पनि बिक्री हुन्छ ।”

बट्टाईपालनका लागि थोरै लगानीबाट सुरु गर्न सकिने र डेढ महिनाको भएपछि निरन्तर आम्दानी गर्न सकिने भएकाले बट्टाई चरा राम्रो आम्दानीको स्रोत बन्दै गएको लिम्बूको भनाइ छ । “अण्डासँगै चल्लाको बजार राम्रो रहेको छ”, उहाँले भन्नुभयो, “अहिले व्यावसायिकरुपमा चल्ला उत्पादन गर्दै आएको छु ।” सानो ठाउँ सानो लगानी र कम परिश्रममा ठूलो आम्दानी लिन सकिने भएकाले बट्टाईपालनप्रति आकर्षण बढ्दै गएको बताइएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *