दुई वर्षपछि श्रीअन्तु पोखरीमा डुंगा सञ्चालन
इन्भेष्टोपेपर । मंसिर २५, २०७८
इलाम । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुंगा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुंगा सञ्चालन पुनः शुरु गरिएको हो ।
कोरोना महामारीसँगै नगरपालिका र डुंगा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुंगा सञ्चालन हुन् छोडेको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पोखरीमा पहिलोपटक नगरपालिका आफैँले डुंगा सञ्चालनमा ल्याएको हो ।
श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुंगा सयर हुने गरेको छ ।
हाल पोखरीमा तीनओटा डुंगा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताए । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुंगा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख राइले भने, ‘अन्य पर्यटकीयस्थलसँगै अन्तुपोखरीमा डुंगा पनि थप गरिएको छ ।’
प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुंगा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ । पर्यटकबाट एक पटक डुंगामा चढेर पोखरी फन्को लगाएको रू. ५० शुल्क लिइने छ । डुंगा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ । (रासस)
