२० मेवा क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु

इन्भेष्टोपेपर । पुष ४, २०७८

पर्वत । स्थानीय मोदी खोलामा निर्मित २० मेगावाट(मेवा) क्षमताको तल्लो मोदी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन शुरु गरेको छ । निर्माण शुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन शुरु गरेको हो ।     
     
 कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका–५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन शुरु गरेको बताएको छ । ३ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरी २०६९ साउनमा शुरु भएको आयोजनाले ६० महीना अर्थात् २०७४ असारभित्रै विद्युत् उत्पादन गर्ने दाबी गरेको थियो ।

भूकम्प, नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करीब चार वर्ष पाँच महीना ढिला उत्पादन शुरु भएको हो ।  आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ ।

करीब ५०० मिटर टाढा रहेको मोदीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो । समय लम्बिएसँगै विद्युत् उत्पादन लागत बढेको भए पनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन । आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिनुभयाे।

विसं २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद सम्झौता गरेको उक्त आयोजनाको वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य रहेको छ । समयमै आयोजना नसकिंदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ ।     
     
 टनेल र पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो । विसं २०७२ को भूकम्प, स्थानीयवासीको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो ।     
     
 आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभीए प्रसारण लाइनको सबस्टेसन मार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताउनु भयाे। योसँगै मोदीखोलामा तीन ओटा जलविद्युत् आयोजना सञ्चालमा आएका छन् भने थप ३ / ४ ओटा आयोजना निर्माणाधीन अवस्थामा छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *