पशुपतिनाथको छत्रावली चोइटियो, अशुभको संकेत

इन्भेष्टोपेपर । पुष ४, २०७८

काठमाडौं । पशुपतिनाथ मन्दिरको गजुरमा रहेको छत्रावली चोइटिएको छ । मन्दिरमा बाँदरहरू चढ्ने, उफ्रने र हल्लाउने गरेकाले छत्रावली चोइटिएको हुन सक्ने पशुपति क्षेत्र विकास कोषको भनाइ छ । छत्रावली चोइटिनुलाई संस्कृतिविद्ले अशुभको संकेत मानेका छन् । गजुरसँग दायाँबायाँ रहेको पाता छत्रावली हो । यसमा सुनको जलप लगाइएको हुन्छ ।

कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले पुरानो पनि भएको र बाँदरहरूले चलाइरहने भएकाले चोइटिएको हुनसक्ने जानकारी दिए । उनले भने, ‘अहिले खट बाँधेर माथि पुगी बाँधेर अड्काउने काम भएको छ । मन्दिरको छानोबाट खसेर भक्तजनलाई कुनै चोटपटक नलागोस् भनेर सम्पूर्ण सुरक्षा अपनाइएको छ ।’ खट बाँधेर माथि पुग्नका लागि कोषका तर्फबाट क्षमा पूजा गरिएको थियो ।

एक साताअघि चोइटिएको छत्रावलीलाई मर्मत गर्नका लागि कोषले पुरातत्व विभाग र गुठी संस्थानलाई पत्राचार गरेको थियो । विभागका महानिर्देशक दामोदर गौतमका अनुसार छत्रावलीको अवस्था र त्यसको मर्मत वा पूरै नयाँ बनाउनेबारे विज्ञसहितको टोलीले छानबिन गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको थियो । उनले मर्मत गर्दा हुने जानकारी कोषलाई गराएको बताए ।

कोषले कोषकै संस्कृति महाशाखाका प्रमुख डम्बरबहादुर कार्कीको संयोजकत्वमा विसेट नाइट अरुण बिसेट, पालोवाला भण्डारीहरू सहितको मर्मत समिति बनाएको छ । पशुपतिनाथका मूलभट्ट गणेश भट्टको निर्देशनमा छत्रावलीको मर्मत कसरी गर्ने भन्ने कार्यविधि बनाएपछि मर्मतको काम सुरु भएको छ । अहिले सशस्त्र र पहरा गणका दुई दुई जनाको २४ घण्टे सुरक्षा मन्दिरमा छ ।

संयोजक कार्कीले भाँचिएको पाता फेर्ने र सोही आसपासबाट पानी चुहिने ठाउँ पत्ता लगाउने काम भएको जानकारी दिए । ‘गजुरसँगै रहेको छत्रावली चोइटिनु भनेको अशुभको संकेत हो,’ विसेट नाइके अरुण विसेटले भने, ‘गजुरको मुनिको भागमा पानी नछिर्ने गरी तामाको किलाले ठोकी पाताहरू मिलाएका छौं ।’

कोषका सदस्यसचिव डा. थापाले भने, ‘कालीगढमार्फत् चोइटिएको छत्रावली मर्मत गर्ने काम भइरहेको छ । नयाँ बनाउनु परे सय वर्षसम्म केही नहुने गरी बनाउने योजना बनाए पनि मर्मतले हुने भएपछि काम अघि बढेको छ। केही दिनमै सम्पन्न हुनेछ ।’ ’ याे समाचार अन्नपूर्ण पोष्टमा प्रकाशित भएकाे छ ।’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *