स्थानीय उत्पादन र खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई संलग्न गराउन ढकालकाे आग्रह

इन्भेष्टोपेपर । पुष ७, २०७८

काठमाण्डाैँ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि बढ्न सके स्वदेशी उत्पादनको प्रवद्र्धन र कलकारखानाको विकासमा सघाउ पुग्ने बताउनुभएको छ ।

रामेछाप उद्योग वाणिज्य संघको १४औँ वार्षिक साधारणसभाको मन्थलीमा उद्घाटन गर्दै उहाँले स्थानीय स्तरमा रहेका फलाम, शिशा, कोइलालगायतका खानीहरु कुनै बन्द तथा कतिपय निकै रुग्ण अवस्थामा रहेकाले तिनको सञ्चालन गर्न सुझाव दिँदै यी खानीहरुको सञ्चालनका लागि निजी क्षेत्रलाई पनि संलग्न गराउनुपर्ने बताउनुभयो ।

रामेछापको ठोसेमा रहेको फलाम खानी अहिले बन्द अवस्थामा रहेकाले त्यसलाई सञ्चालनमा ल्याउन र त्यसमा निजी क्षेत्रलाई संलग्न गराउन पनि उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो– पहिले सञ्चालनमा रहेको सो खानीबाट फलाम निकालेर हातहतियार लगायत उत्पादन गर्ने गरिएकोमा अहिले बन्द हुनु राष्ट्रकै लागि क्षति हो, म यस खानी तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारलाई माग गर्दछु र यस्ता खानीहरुको सञ्चालनमा निजी क्षेत्रलाई पनि संलग्न गरेर लैजान पनि माग गर्दछु ।

साथै कार्यबाहक अध्यक्ष ढकालले स्थानीय स्तरका उत्पादन र तिनको औद्योगिकीकरण एवं बजारीकरणमा पनि निजी क्षेत्रलाई संलग्न गराउने खालका नीति नियमहरुमा आवश्यक परिमार्जन गरी अघि बढ्न सकेमा यसबाट राष्ट्रिय उत्पादकत्वमा धेरै सहयोग पुग्ने धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो– जस्तो कि रामेछापमा नै जुनारलगायतका कृषि उत्पादनहरुको ठूलो सम्भावना छ तर कृषकहरुको फुट्कर उत्पादनले यथोचित बजार पाउन सकेको छैन, त्यसैले यस्ता कृषि उपजलाई संस्थागत उत्पादन र बजारीकरणमा निजी क्षेत्रको संलग्नताले कृषक र उपभोक्ता दुवैलाई लाभ पुग्नेछ ।

हरेक उत्पादनशील क्षेत्रमा व्यवसायिकताको विकास गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यबाहक अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको अर्थपूर्ण सहभागिताले मात्र देशमा समृद्धि हासिल हुने धारणा राख्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *