ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ ल्याउन सक्छ : विश्व स्वास्थ्य सङ्गठन
इन्भेष्टोपेपर । पुष १५, २०७८
काठमाण्डाै । कोरोना भाइरसको ओमिक्रोन र डेल्टा भेरियन्टले सङ्क्रमणको ‘सुनामी’ नै ल्याउन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
युरोप र अमेरिकामा कोरोनाका नयाँ सङ्क्रमित उच्च सङ्ख्यामा देखा परिरहेका बेला विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सङ्क्रमण ‘सुनामी’को चेतावनी दिनुभएको हो । उहाँले कोरोनाका दुईवटा भेरियन्टको चुनौती निक्कै डरलाग्दो गरी बढेको बताउनुभएको छ ।
अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाउनु भएकाे छ। यसैगरि फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु ‘आँधीजस्तो लहर’ भन्नुपर्ने बताउनु भएकाे छ।
अमेरिकाका शीर्ष सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले सङ्क्रमणले आउँदो जनवरीको अन्त्यसम्ममा अमेरिकामा उच्च बिन्दुमा पुग्ने सम्भावना देखिएको बताउनुभएको छ ।
अमेरिकामा महामारी सुरु भएयताकै उच्च दैनिक सङ्क्रमण देखा परेको छ जहाँ गत साता औसत दैनिक दुई लाख ६५ हजार सङ्क्रमित पुष्टि भएका थिए। आफ्ना यसअघिका दैनिक सङ्क्रमणका कीर्तिमान तोड्ने देशहरूमा यूके, इटली र स्पेन समेत छन्।
तर सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीले अस्पताल भर्ना हुने र मृत्यु हुनेहरू तुलनात्मक रूपमा न्यून रहेको जनाएको छ।
सङ्क्रमण बढेपछि केही देशमा कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बुस्टर अभियान समेत सुरु भएको छ । तर डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले ‘महामारी लम्ब्याउने देखिएको’ बताउनु भएकाे छ।
