पशुपति क्षेत्रमा भगवानका चित्र काेर्न मन्त्री आलेको निर्देशन

इन्भेष्टोपेपर । फागुन ५ २०७८

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ ।

बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “महाशिवरात्रि पर्व आउँदै छ, पशुपति क्षेत्रमा रहेका सम्पूर्ण पर्खालमा भगवान् शिव र विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गराएर सजाउनु होला ।”

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा रहेका अव्यवस्थित टहरा, पसल व्यवस्थित ठाउँमा तत्काल सार्न र यहाँ फूल प्रसाद बिक्री गर्नेका लागि पायक पर्ने ठाउँमा पसल निर्माण गर्नसमेत निर्देशन दिनुभयो । निरीक्षणकै क्रममा मन्त्री आलेले भन्नुभयो, “पशुपति क्षेत्रमा जताततै फोहरको थुप्रो छ, पर्खाल वरिपरि दिसा, पिसाबले भरिएको छ, सबै सफा राख्नुस् पर्खालमा भगवान्का चित्र चित्रण गर्नुस् ।”

उहाँले पशुपति परिसरमा सरसफाइ, जीर्णोद्धार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल गर्नसमेत आग्रह गर्नुभयो । देश विदेशबाट आउने लाखौँ भक्तजनको सहज सुविधा र आकर्षण बढाउन पशुपतिको अहिलेको अव्यवस्थालाई पूरै हटाएर व्यवस्थित र आकर्षक बनाइने मन्त्री आलेले बताउनुभयो । पशुपति विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले मन्त्रीको निर्देशनपछि व्यावसायिक कलाकार लगाएर भित्तामा कलात्मक तस्बिर चित्रण गर्ने काम तत्काल सुरु गरिने बताउनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *