शिवरात्रिमा भक्तजनलाई समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

इन्भेष्टोपेपर । फागुन १२, २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिनुभएको छ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री आलेले आज कोषका पदाधिकारीलाई पशुपतिमा आउने भक्तजनका लागि आवश्यक पर्ने सम्पूर्ण कुरा पूरा गर्न निर्देशन दिनुभयो। ‘भव्य र सव्यरुपमा महा शिवरात्रि मनाउन सबै लागि परौँ, भक्तजनलाई कुनै पनि कुराको कमी नआवस्’, मन्त्री आलेले भन्नुभयो।

महाशिवरात्रिको समयमा पशुपति क्षेत्रलाई बिजुली बत्तीदेखि फूलहरुले सजाएर रङ्गीचङ्गी तथा झकिझकाउन गर्नसमेत उहाँले निर्देशन दिनुभयो।

शिवरात्रि पर्वको समयमा देश विदेशबाट आउने भक्तजनलाई लाइनमा लगाउने, शुद्ध पानी, खानाको व्यवस्थालगायतका कुरामा अहोरात्र खटिन र भव्य तथा सभ्यरुपमा सफल पार्नसमेत उहाँले आग्रह गर्नुभयो।

पशुपतिनाथमा महाशिवरात्रि पर्वमा आउने भक्तजन भोकभोकै रातिदेखि लाइनमा बसेर बिरामी हुने भएकाले उनीहरुलाई उपचारका लागि तत्काल अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्था मिलाउनसमेत मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो।

यसैगरी मन्त्री आलेले पशुपति क्षेत्रमा पर्खालमा गरिन लागेको भगवान्का चित्र निर्माणका कार्य तत्काल सक्नसमेत निर्देशन दिनुभयो।

महाशिवरात्रि पर्व यही फागुन १७ गते मङ्गलबार परेको छ। यस वर्ष पशुपति क्षेत्रमा कम्तीमा पनि १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो।

पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० उपसमिति गठन गरिएको छ। (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *