रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्षले गरे सहमति

इन्भेष्टोपेपर । फागुन २८, २०७८

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ ।

रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।     
     
कोभिड–१९ संक्रमणका कारण घटदै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गरेको प्रयास फलदायी भएको छ । नौ ओटा कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारिखबाट दैनिक १४ ओटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उहाँले बताउनुभयाे ।     

चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि याहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ । कोरोना संक्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन ओटा ठूला कन्टनरबाट आयात शुरु गरेको थियो ।     

अहिले दैनिक १४ ओटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ ओटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन् । पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, छ हुँदै नौ ओटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *