नेपाल दूरसञ्चार कम्पनीकाे चौधौं वार्षिक साधारणसभा सम्पन्न

इन्भेष्टाेपेपर ।  चैत्र २५, २०७८

काठमाण्डाैँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको चौधौं वार्षिक साधारणसभा चैत २४ गते विहिबारका दिन सम्पन्न भएको छ ।

काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफा रकम मध्येबाट कम्पनीका शेयरधनीहरुलाई प्रत्येक १०० कित्ता शेयर बराबर २० (बीस) कित्ताको अनुपातमा बोनस शेयर र प्रति शेयर रु. २० (बीस) का दरले नगद लाभांश वितरण गरी कम्पनीको जारी तथा चुक्ता पुँजी १८ अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७७।७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । यसैैगरी साधारणसभाले लेखापरीक्षक नियुक्त गर्नुका साथै निजहरुको पारिश्रमिक तथा नियुक्तिका अन्य शर्तहरु निर्धारण गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको चौधौं वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले विश्वमा विकास भएको नवीनतम र आधुनिक दूरसञ्चार प्रविधिको प्रयोग गरी आफ्नो सेवालाई थप गुणस्तरीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताउनु भयो ।

अध्यक्ष अर्यालले भन्नुभयो, ‘यस आर्थिक वर्षमा कम्पनीको भ्वाइस सेवाको ग्राहक आधार ५.५७ प्रतिशतले वृद्धि भई २ करोड ११ लाख पुगेको छ । कम्पनीको राजस्वको प्रमुख स्रोतको रूपमा रहेको जीएसएम सेवाको ग्राहक आधार १४.२४ प्रतिशतले वृद्धि भएको छ । साथै, कम्पनीको डाटा सेवाको ग्राहक आधार ३५.३१ प्रतिशतले वृद्धि भई २ करोड ३ लाख ९७ हजार पुगेको छ ।कम्पनीको ब्रोडब्याण्ड डाटा सेवाको बजार हिस्सा ५.१४ प्रतिशतले वृद्धि भई ५३.८२ प्रतिशत पुगेको छ । यसरी भ्वाइस र डाटा दुवै सेवामा यस कम्पनी नेपालको अग्रणी संस्थाको रूपमा स्थापित हुन सफल भएको व्यहोरा यहाँहरू समक्ष राख्न पाउँदा म गौरवान्वित भएको छु ।’

प्रविधिमा भएको विकास र परिवर्तनसँगै विश्वमै भ्वाइस सेवाको व्यापार क्रमशः डाटा तथा अन्य भ्यालु एडेड सेवामा रूपान्तरण हुने क्रममा रहेको, बढ्दो प्रतिस्पर्धाका कारण व्यापार प्रबद्र्धनको लागि प्रतिस्पर्धी मुल्यमा सेवा उपलब्ध गराउनुपर्ने वाध्यता विद्यमान रहेको अवस्थामा समेत कुल राजस्व र खूद नाफा क्रमशः रु. ४२ अर्ब २१ करोड र रु.७ अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको उहाँले बताउनु भयो ।

अध्यक्ष अर्यालले चालु आर्थिक वर्ष २०७८/७९ मा कार्यान्वयन गरिने प्रमुख कार्यक्रम तथा आयोजनाको बारेमा समेत संक्षिप्तमा प्रकाश पार्नुभएको थियो ।

कम्पनीका अध्यक्ष अर्यालले साधारणसभामा शेयरधनी महानुभावहरुबाट उठाइएका प्रश्नहरुको जवाफ प्रस्तुत गर्दै प्राप्त सुझावहरुलाई नीतिगत र व्यावहारिक रुपले सम्भव भएसम्म कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो र सुझावहरुप्रति आभार व्यक्त गर्नुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *