सञ्चालनकाे एक महिनामा आयोगको कल सेन्टरमा ५ हजार २५१ जिज्ञास

इन्भेष्टाेपेपर ।  वैशाख १७, २०७९

काठमाडौँ । निर्वाचन आयोगको कल सेन्टरमा एक महिनामा ५ हजार २५१ वटा जिज्ञासा रजिष्टर्ड भएका छन् । सोमध्ये करिब सबैजसो जिज्ञासा सम्बोधन भएका छन् । कुल जिज्ञासाको ४ हजार ५६२ वटा नियमित कल र ६८९ वटा रेकर्डेड कल अर्थात् भ्वाइस मेल रहेका छन् ।

कल सेन्टरका सुपरभाइजर मधुसुदन पुडासैनीकाअनुसार गत चैत १५ गतेदेखि कल सेन्टर सञ्चालनमा आएको हो । कल सेन्टरमा दैनिक करिब तीन सय जिज्ञासा आउनेगरेका छन् । सोमध्ये अधिकांश जिज्ञासाको तत्काल सम्बोधन र केही जिज्ञासाको सम्बन्धित शाखा, महाशाखासँगको समन्वयमा सम्बोधन गर्ने गरिएको छ । कल सेन्टरमा एक जना सुपरभाइजर, एक जना नेपाल टेलिकमको सिनियर इन्जिनियर तथा पाँच जना कल एजेन्ट गरी सात जना जनशक्ति खटिएका छन् । नविनतम् प्रविधि जडान गरिएको कल सेन्टरमा आउने जिज्ञासाको सम्बोधनका लागि आयोगका उच्च पदाधिकारी तथा कर्मचारीको सक्रिय रहेको पुडासैनीले बताउनुभयो ।

आयोगको कल सेन्टर टोलफ्री नम्बर ११०२ मा आउने जिज्ञासामध्ये ५० प्रतिशत जिज्ञासा मतदाता नामावली तथा परिचयपत्रसँग सम्बन्धित छन् भने मतदाता नामावलीमा नाम छुट भएकाले समावेश गर्न मिल्ने नमिल्ने, मतदाता परिचयपत्र हराएकाहरुले प्रतिलिपि प्राप्त हुने कि नहुने, मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने अन्य परिचयपत्रबाट मतदात गर्न मिल्ने कि नमिल्ने, वैदेशिक रोजगारबाट हालसालै स्वदेश फर्किएका व्यक्तिहरुको मतदाता नामावलीमा नाम समावेश हुने कि नहुने ? लगायतका जिज्ञासा आउनेगरेको पुडासैनीले जानकारी दिनुभयो ।

कलसेन्टरमा प्रायः युवाहरूको जिज्ञासा बढी आउने गरेको पुडासैनीले बताउनुभयो । प्राप्त अन्य जिज्ञासामा निर्वाचन ऐन, नियमका प्रावधान, स्थानीय तह निर्वाचनका निर्देशकामा भएको व्यवस्था, शिक्षक, पत्रकार, संघ संस्थाका कर्मचारी, सरकारी कर्मचारीले दलको झण्डा बोकेर चुनावी प्रचार प्रसारमा हिड्न पाइन्छ कि पाइदैन ? उम्मेदवारहरुको योग्यता तोकिदा शैक्षिक योग्यता निर्धारण
किन नगरिएको होला ? आदि जिज्ञासा बढी आउनेगरेका छन् ।

‘कल सेन्टरमा जिज्ञासासहितको कल प्राप्त हुनासाथ कल सेन्टरले सम्बन्धित शाखा, महाशाखामा कार्यरत कर्मचारीसँग समन्वय गरी जिज्ञासा तथा गुनासाहरु सम्बोधन गर्ने गरिएको छ, केही जिज्ञासा उच्च तहमा सम्बोधनका लागि पठाइने गरिएको छ’ सुपरभाइजर पुडासैनीले भन्नुभयो, ‘कल सेन्टरमा
प्राप्त जिज्ञासाको तत्काल सम्बोधनका लागि स्वचालित आन्तरिक प्रणालीको व्यवस्थापन गरिएको छ ।’

कल सेन्टर सञ्चार प्रविधिको नविनतम् प्रविधि एसआइपी पीबीएक्समा आधारित रहेको पुडासैनीले बताउनुभयो । यो प्रविधिबाट एक पटकमा एकैचोटी १५ जनासम्मले कल गर्न पाउने सुविधा रहेको
छ । हाल कल सेन्टरमा साँझ ७ बजेदेखि विहान ९ बजेसम्म श्रव्य सन्देशको रुपमा समेत दर्ता गर्न सकिने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । (श्राेतः निर्वाचन आयाेग)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *