मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न आयोगको निर्देशन
इन्भेष्टाेपेपर । वैशाख २७, २०७९
काठमाडौँ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न निर्वाचन आयोगले नेपाल सरकारका सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
उक्त दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसममका लागि मतदान हुने सबै मतदान केन्द्रहरूमा वर्षात्को पानीबाट पर्ने पाल/त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि आयोगले सबै स्थानीय तहहरूले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीहरूसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको सोमबारको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
