नवप्रवेशी गुजरात टाइटन्स बन्याे आईपीएल च्याम्पियन
इन्भेष्टाेपेपर । जेठ १६, २०७९
काठमाडौं । प्रतियाेगितामा पहिलाेपटक भाग लिएकाे गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा च्याम्पियन बनेको छ । गुजरात पहिलो सहभागितामै च्याम्पियन बनेको हो । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा गुजरातले राजस्थान रोयल्सलाई सात विकेटले हरायो ।
राजस्थानले दिएको १ सय ३१ रनको सामान्य लक्ष्य गुजरातले १८.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । गुजरातको जितमा सुबमन गिलले अविजित ४५ रन बनाउनुभयो । कप्तान हार्दिक पान्डेय ले ३४ र डेभिड मिलरले अविजित ३२ रन बनाउनुभयो । बलिङमा राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले एकएक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ३९ रन बनाउनुभयो ।
राजस्थानलाई सस्तैमा रोक्न उम्दा बलिंङ गर्दै गुजरात टाइटन्सका हार्दिक पान्डेयले तीन विकेट, साई किशोरले दुई तथा मोहमद शामी, राशिद खान र यश दयालले एक एक विकेट लिनुभयो ।
यस प्रतियाेगितामा राेयल्सका जस बटलरले १७ म्याचमा चार सतकसहित सर्वाधिक ८६३ रन बनाउनुभयाे भने राेयल्सकै युजभेन्द्र चाहालले सर्वाधिक २७ विकेट लिनुभयाे । एजेन्सी
