वैदेशिक मुद्रा भित्र्याउन ग्लोबल आइएमई बैंकको पहल, लण्डनमा अन्तरक्रिया कार्यक्रम
इन्भेष्टाेपेपर । असार २९, २०७९
काठमाण्डाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा तथा नेपालमा वैदेशिक लगानी विषयमा बेलायतको लण्डनमा सोमबार वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
संयुक्त अधिराज्यको लण्डनस्थित बैंकको वैदेशिक प्रतिनिधि कार्यालय र श्रृजनशील लेस्टर नेपाल, युकेद्वारा संयुक्तरुपमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले विदेशमा रहने नेपालीहरुलाई लक्षित गरी नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा ल्याएको विषयमा जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्ने सुविधा दिएको सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
“यसमा नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलेर पैसा जम्मा गर्न सकिने, आवश्यक परेको समयमा नेपालबाट पैसा फिर्ता ल्याउन पनि सकिने सुविधा रहेको छ । भिषा कार्ड तथा मास्टर कार्डमार्फत यहाँहरुले विदेशमा खर्च गर्न पनि सक्ने र आवश्यकताअनुसार नेपालमा लगानी गर्न वा घरपरिवारका सदस्यहरुले उक्त बचतलाई नेपालमा नेपाली रुपैयाँमा निकाल्न मिल्ने सुविधा यसमा रहेको छ,” उहाँले बताउनुभयो ।
आइएमई रेमिट हामीले सुरुगरेको २२ वर्ष पुगेको छ । विगत २२ वर्षमा आइएमईले नेपालमा औपचारिकमाध्यमबाट रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेको छ । हामीले रेमिट्यान्स सेवा सुरुगर्दा मुलुकमा रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउन रेमिट कम्पनीको आवश्यकता थियो । आज आइएमई नाम आफैमा रेमिटको पर्यावाची बनेको छ । अन्य बैंक तथा रेमिट कम्पनीहरुमा जाने ग्राहकहरुले पनि पैसा पठाउन पर्यो भने आइएमई गरिदिनुस् भन्ने गरेको पाइएको छ, उहाँले भन्नुभयो ।
उहाँले मुलुकको अर्थतन्त्रमा देखिएको संकट टार्न र मुलुकलाई थप आर्थिक संकटबाट मुक्त गर्न सबै नेपालीहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो । यसका लागि तपाईहरुले नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोलिदिनुपर्यो । नेपालमा थप बैदेशिक लगानी भित्र्याउन सहजीकरण गरिदिनुपरर्यो, उहाँले भन्नुभयो ।
उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृति रत्नराज बज्राचार्यले नेपाल राष्ट्र बैंकले ल्याएको विदेशी मुद्रामा खाता खोल्ने प्रावधानबारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा श्रृजनशील लेस्टर नेपाल, युकेका पदाधिकारीहरु, गैर आवाशीय नेपाली संघका प्रतिनिधिहरु तथा नेपाली समुदायको ठूलो सहभागिता रहेको थियो ।
यसअघि नेपलिज एकाउन्टेन्स् एशोशिएसन, युकेसँगको अन्तरक्रियामा बैंकका अध्यक्ष ढकालले नेपालमा वैदेशिक लगानीका लागि युकेका व्यवसायी तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न एशोशिएसनलाई आग्रह गर्नुभएको छ ।
लगानी प्रतिफलको हिसाबले पनि नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको बताउँदै, उहाँले धेरैभन्दाधेरै बैदेशिक लगानी भित्र्याउन युकेमा रहेका नेपालीहरुले नै भूमिका निभाउनुपर्ने बताउनुभयो ।
