हेटाैडामा धूलो दूध कारखाना तयार
इन्भेष्टाेपेपर । असार ३२, २०७९
हेटौंडा । बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा लिएको धूलो दूध कारखाना उत्पादन शुरू गर्ने तयारीमा पुगेको छ । हेटौंडा उपमहानगरपालिका–१० सिसौघारीको दुई बिगाहा जमिनमा सरकारले ४१ करोड २२ लाख रुपैयाँ लगानीमा निर्माण गरेको सो कारखानामा पाउडर प्लान्टको उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगिसकेको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनकारी दिएको छ ।
किसानले उत्पादन गरेको दूध खेर जान नदिन प्रदेश सरकारले १ वर्षभित्र हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा काठमाडौं इजी इन्फा प्रालिसँग सम्झौता गरेकोे थियो । निर्माणको जिम्मा पाएको कम्पनीले कोरोना महामारीको असरले समयसीमाभित्र निर्माण सम्पन्न गर्न नसकिएको जनाउँदै २ महीना म्याद थपेर काम गरेको कम्पनीका प्रमुख उत्तम पौडेलले जानकारी दिए । उनले अबको २ महीनामा प्लान्ट पूर्णरूपमा निर्माण सम्पन्न भई सरकारलाई हस्तान्तरण गरिने जानकारी दिए । उक्त प्लान्टमा बागमती प्रदेशसँगै अन्य चार प्रदेशका किसानले उत्पादन गरेको दूध ल्याएर पाउडर बनाउने उद्देश्य छ । प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशका केही जिल्लासहित बागमती प्रदेशका किसानले उत्पादन गरेको दूध खपत गरी पाउडर बनाउने मन्त्रालयको योजना छ ।
पाउडर प्लान्ट सञ्चालनका लागि प्रदेश १ को सुनसरी, धरान, झापा, मधेश प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँलगायत जिल्लाबाट दूध आयात गरिने बताइएको छ । उक्त प्लान्ट सञ्चालनपछि चार प्रदेशका करीब २२ हजार किसान लाभान्वित हुने मन्त्रालयको अनुमान छ । किसानबाट दैनिक ६० हजार लिटर दूध खरीद गर्ने योजना छ । किसानले उत्पादन गरेको दूधबाट दैनिक पाँच मेट्रिक टन पाउडर दूध उत्पादन र प्याकिङ गर्ने लक्ष्यसहित मन्त्रालयले काम गरिरहेको छ । (रासस)
