द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति घोषित
इन्भेष्टाेपेपर । साउन ६, २०७९
नयाँ दिल्ली । भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति घोषणा गरेको छ ।
बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको पन्ध्राैँ राष्ट्रपति घोषणा गर्नुभएकाे हाे ।
मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उहाँका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार आठसय ७७ मत प्राप्त गर्नुभएकाे थियाे । निर्वाचनमा चार हजार सातसय ५४ मत मत खसेको थियो जसमा ५३ मत बदर भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नवनिर्वाति राष्ट्रपति मुर्मुलाई उहाँको निवासमा भेटेर बधाई ज्ञापन गर्नुभएकाे थियाे । अल्पसङ्ख्यक जातीय समुदायकी मुर्मु भारतको पहिलो आदिवासी महिला राष्ट्रपति हुनुभएकाे छ ।
आगामी सोमबार उहाँले पद तथा गोपनीयता शपथ लिने कार्यक्रम छ । भारतको संविधानअनुसार प्रधानमन्त्री कार्यकारी सरकार प्रमुख भए पनि पदीय मर्यादाअनुसार प्रधानमन्त्रीभन्दा माथिको ठूलो औपचारिक पद हो ।
पूर्वी राज्य उडिसाकी ६४ वर्षिया मुर्मु सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राज्यपाल हुनुहुन्थ्याे । सन्थाल जातिकी अल्पसङ्ख्यक सदस्य उहाँका समुदायका मानिस पूर्वी नेपालको झापा र मोरङमा बसोबास गर्दै आएका समाचार संस्था एपीले जनाएको छ ।
राजनीतिमा प्रवेश गर्नु अघि उहाँ विद्यालय शिक्षिका हुनुहुन्थ्याे । प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीबाट दुई पटक सांसद भएकी उहाँका बुबा र हजुरबुवा उडिसाको मयुरभञ्ज जिल्लाको बैदापोसीमा गाउँका प्रमुख थिए ।
