पशुमा बाँझोपनको समस्या

इन्भेष्टाेपेपर ।  साउन ६, २०७९

टीकापुर ।  कैलालीका पशुपालक किसान पशुमा बाँझोपनको समस्या देखिन थालेपछि समस्यामा परेका छन् । कैलालीमा अधिकांश किसान गाई, भैँसी तथा बाख्रामा बाँझोपनको समस्या देखिन थालेको बताउँछन् । पशुमा बाँझोपनको समस्या देखिन थालेपछि किसानलाई पशुपालनबाट घाटा हुन थालेको छ ।

कैलालीको लम्कीचुहाकी मातुली भूलले गाई र बाख्रा पाल्नुभएको छ । उहाँको गाईमा पटक–पटक बाली जाने तर गर्भाधारण नहुने समस्या छ । लामो समयसम्म गाई ब्याउने (गर्भाधारण) नभएपछि उहाँ तनावमा हुनहुन्छ । “गाई धेरैपटक बाली गएको छ, तर गर्भधारण गर्न सकेको छैन, भैँसी भए बेच्न हुन्थ्यो, बाख्रा भए पनि काटेर मासु खान सकिन्थ्यो”, मातुलीले भन्नुभयो, “गाई के गर्नु ? दूध नदिने गाई कसैले किन्ने कुरा पनि भएन, पाल्नमात्र दुःख भएको छ ।”

जानकी गाउँपालिकाका बालकृष्ण सार्कीले घरमा बाख्रा, भैँसी पाल्नुभएको छ । उहाँको घरमा पालेको भैँसीमा लामो समयसम्म बाँझोपनको समस्या देखियो । उपचारपछि भैँसी ब्याएको उहाँ बताउनुहुन्छ । “लामो समयसम्म भैँसीमा बाँझोपनको समस्या देखियो, रु एक लाखमा किनेको भैँसीमा बाँझोपनको समस्या देखिएपछि साह्रै पीर प¥यो”, उहाँले भन्नुभयो, “पछि पशु प्राविधिकको सल्लाह लिएँ, पशु प्राविधिकले उपचार गरेपछि भैँसी अहिले ब्याएको छ ।”

जानकी–५ की जुनादेवी रावतले बाख्रा पाल्नुभएको छ । उहाँले पाल्नुभएको बाख्रा ब्याउने नभएपछि उहाँले बाख्रा बेच्नुभयो । उहाँले फेरि अर्को बाख्रा किन्नुभयो । अहिले भने उहाँले बाख्राको नियमित उपचार, पोषण र सरसफाइमा ध्यान दिनुहुन्छ । त्यसले बाख्रा पनि राम्रो छ र उहाँलाई पनि पशुमा पनि बाँझोपनको समस्या हुनसक्छ भन्ने ज्ञान भएको छ । “बाख्रामा बाँझोपनको समस्या हुने रहेछ भन्ने थाहा थिएन, अहिले बुझेकी छु, बाख्रालाई नियमित उपचार गर्छु, जुकाको औषधि खुवाउँछु”, जुनादेवीले भन्नुभयो, “बाख्रालाई बढी पोषण चाहिने रहेछ, घाँसमात्र खुवाएर हुने रहेनछ, दाना, पानीबारे पनि ध्यान दिनुपर्ने रहेछ ।”

पशुमा देखिने विभिन्न किसिमका यौनजन्य रोग र पशुको पोषणमा ध्यान नदिँदा बाँझोपनको समस्या हुने गरेको टीकापुर नगरपालिकाका पशु सेवा शाखा प्रमुख श्यामराज पाण्डे बताउनुहुन्छ । “पशुहरूमा विभिन्न किसिमका विकृत यौनजन्य रोग हुनसक्छन्, यी रोगले बाँझोपनको समस्या हुन्छ, यी रोगको उपचार गर्नुपर्छ”, पाण्डे भन्नुहुन्छ, “पशुलाई पोषिलो खानेकुरा पनि चाहिन्छ, पोषणमा ध्यान दिएको पाइँदैन, घाँसको सिजनमा घाँसमात्र खुवाउने, परालको सिजनमा परालमात्र खुवाउनेजस्ता समस्या छन्, दाना खुवाउने किसान निकै कम छन् ।”

पशु प्राविधिक पाण्डे उन्नत पशुमा बढी बाँझोपनको समस्या देखिने भएकाले नियमित गोबर परीक्षण गरी जुकाको औषधि खुवाउने, आहारा तथा दानामा ध्यान दिनुपर्ने बताउनुहुन्छ । “नियमिति उपचारमा पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “आजभोलि दैनिक दुईदेखि चार जनासम्म किसान बाँझोपनको समस्या लिएर पशु सेवा शाखामा आउने गरेका छन्, उपचारमा आएका ८० प्रतिशत पशुको बाँझोपनको समस्या निराकरण भएको छ ।”

उहाँ किसानको लापरवाहीले २० प्रतिशत पशुमा बाँझोपनको समस्या रहेको बताउनुहुन्छ । पशुलाई पेटभर खान, सोतरमा सुत्न र नियमितरूपमा नाम्ले तथा जुकाको औषधि नपाउँदा पशुमा बाँझोपनको समस्या बढेकाले किसानले पशुपालनबारे ज्ञान लिन आवश्यक रहेको उहाँको भनाइ छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *