मेगा बैंक १३औं बर्षमा प्रवेशः थुप्रै वित्तीय सूचकहरुमा उत्साहमुलक उपलब्धि

इन्भेष्टाेपेपर ।  साउन ९, २०७९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ ।

१२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहम भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

आज भन्दा ठीक तेह्र बर्ष अगाडि १२ सय १९ जना संस्थापक शेयरधनीहरुको लगानीमा १४ जना संस्थापकहरु र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको थियाे ।

अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ बर्षको अवधि)मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘साना तथा मझौला उद्योग तथा व्यवसाय अन्तरगत कृषि, माइक्रो फाइनान्सिङ, महिला उद्यम कर्जा, डिप्राइभ सेक्टर लेन्डिङसँग सम्बन्धित विधाहरुमा डिफिड–सक्षम, युएसएड–निट, हेल्भेटास, आइओएमसँग सम्बन्धित क्षेत्रहरुमा सहकार्य गरी बैंकिङ पहुँच नपुगेका समुदायमा बैंकिङ पहुँच पु¥याउन दुर्गम क्षेत्र, पिछडिएको वर्गको आर्थिक, सामाजिक रुपान्तरण र सशक्तिकरण महत्वपूर्ण भूमिका खेलेको छ ।’

मेगा बैंककी कायममुकायम सिइओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताउनुभयो । ‘संस्थापकहरुको सोच र भिजनका कारण मेगा बैंक आज देशकै विश्वाशिलो र अग्रणी बैंकको रुपमा स्थापित भएको छ । बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८ औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७ औं स्थानमा छ । २०७९ असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सय भन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

समता अस्पताललाई पाँच लाख सहयोग

मेगा बैंक नेपाल लिमिटेडले १२औं बार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैंया सहयोग गरेको छ । मेगा बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभयो । एक सय रुपैंयामा सर्वसाधारणको उपचार गराउँदै आएको यस अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *