विशेष अदालतमा एकै दिन पाँचओटा भ्रष्टाचार मुद्दा दर्ता

इन्भेष्टाेपेपर ।  साउन २५ २०७९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा एकै दिन पाँचओटा मुद्दा दर्ता गरेको छ ।

आर्थिक वर्ष (आव) २०७०/७१ मा कालीकोट र मुगु जिल्लाको विभिन्न सार्वजनिक निकायमा कार्यरत कर्मचारीले भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मंगलवार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

मुगुको डिभिजन वन अधिकृत भरतबहादुर बुढथापा, जिल्ला विकास समितिको कार्यालय कालीकोटका तत्कालीन खरिदार राजबहादुर बम, जिल्ला विकास समिति कालीकोटका तत्कालीन एलएपीए कार्यक्रम संयोजक कमलप्रसाद खनाल, अल्लो भाँगो प्रशोधन केन्द्र, कालीकोटको भवन निर्माण उपभोक्ता समितिका पदाधिकारी र कृषि विकास कार्यालय कालीकोटका तत्कालीन प्रास रत्नप्रसाद पाण्डेविरुद्ध अख्तियारले छुट्टाछुट्टै मुद्दा दर्ता गरेको हो ।

मुगुको छायानाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दूधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा रकम हिनामिना गरेको भेटिएपछि आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरतबहादुर बुढथापासहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

साबिक जिल्ला विकास समितिको कार्यालय, कालीकोटले आव २०७०/७१ मा जिल्ला कृषि विकास कार्यालय, कालीकोटमार्फत सञ्चालन गरेको कृषि तालीम कार्यक्रममा सरकारी तथा सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्दै कालीकोटका तत्कालीन प्राविधिक सहायक हाल गुठीचौर गाउँपालिका जुम्लाका अधिकृत छैटौं तह रत्नप्रसाद पाण्डेविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

कालीकोटबाट आव २०७०/७१ मा सञ्चालित विभिन्न कार्यक्रमअन्तर्गत अल्लो भाँगो प्रशोधन केन्द्र कालीकोटको भवन निर्माण कार्यमा झूटा बिल बनाई स्रेस्तामा समावेश गरी रकम हिनामिना भएको भन्दै भवन निर्माण उपभोक्ता समिति र सोका जिम्मेवार पदाधिकारी अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना पाण्डेविरुद्ध पनि मुद्दा दर्ता गरेको अख्तियारको भनाइ छ ।

कालीकोटबाट आव २०७०/७१ मा सञ्चालित उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिअन्तर्गतको कार्यक्रममा सिलाइ मेशिन खरीद र उक्त सामानको ढुवानी गरेको खर्च देखाई पेश्की फछ्र्योट गर्ने कालीकोटका तत्कालीन खरिदार राजबहादुर बमविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

अख्तियारले कालीकोटबाट आव २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्तर्गत प्रचारप्रसारका लागि होर्डिङ बोर्ड निर्माण गरेको भनी नक्कली भरपाइ स्रेस्तामा समावेश गरी भुक्तानी लिने कार्य गरेको अभियोगमा जिल्ला विकास समिति कालीकोटका तत्कालीन एलएपीए कार्यक्रम संयोजक कमलप्रसाद खनालविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *