कात्तिक १७ देखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सकिने

इन्भेष्टाेपेपर ।  कार्तिक १४, २०७९

काठमाण्डाैँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को (म) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसार समेत गर्न सकिने व्यवस्था छ ।

जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयन भइरहेको विदितै छ । आचारसंहिताको प्रभावकारी कार्यन्वयन भए/नभएको सम्बन्धमा निर्वाचन आयोग र जिल्ला आचारसंहिता अनुगमन समितिबाट भएको अनुगमन, उल्लघंनका घटनाबारे प्राप्त उजुरी तथा जानकारीका आधारमा स्पष्टीकरण सोध्ने र जवाफ आउने क्रम जारी रहेको छ भने आचारसंहिताको प्रतिकूल हुने गरी कुनै पनि गतिविधि नगर्न आयोगले राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षसँग आग्रहसमेत गर्दै आएको छ ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

साथै, दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने, कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न नहुने प्रावधानहरू आचारसंहितामा रहेको व्यहोरासमेत स्मरण गर्न निर्वाचन सम्बद्ध पक्षहरूमा आयोगले अनुरोध गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *