कविता : चुनावी चहलपहल र अमुक पात्र

— हृदय लेकाली

मेरो अमुक पात्र
म तिमीलाई के अर्थ्याउँ
म तिमीसित के बेलीबिस्तार गरुँ
कहीँ नभएको जात्रा हाँडीगाउँमा भने झैँ
यति बेला
गाउँगाउँमा
टोलटोलमा
शहरशहरमा
जात्रा भित्रिएको छ अचम्मको ।

अरुबेला मेरो अमुक पात्र
तिमी र मैले
चाहेर पनि कहाँ देख्न पाइन्छ यस्तो जात्रा
आफू बोल्न पर्दैन उनीहरु नै बोलाउँछन्
आफू नमस्कार गर्नु पर्दैन उनीहरु नै गर्छन्
आफू सोध्नु पर्दैन उनीहरु नै सोध्छन्
आफू आउनु पर्दैन उनीहरु नै आउँछन् ।

दिनरात चौबीसै घण्टा
ओहोरदोहोर छ यिनीहरुको यतिबेला
गधा खच्चर कुकुरलाई पनि नमस्ते पड्काउँछन्
मान्छे जनावर पनि चिन्दैनन् यति बेला
चुनावी भूत चढेको छ यिनीहरुलाई
पागल झैँ हुने नहुने
सम्भव असम्भव कुराहरु गर्छन्
मानौँ यतिबेला यिनीहरुका कुरा सुन्दा
हामीहरु नै पागल हुन्छौँ ।

मेरो अमुक पात्र
हामीलाई थाहा छ
हाम्रो गाउँ ठाउँ क्षेत्रको बजेट
उतैउतै झ्वाम पारे
विकास योजनाका कुरा
थोत्रा भाषणमा सीमित पारे
चण्डाल नेताले देश र जनता कङ्गाल पारे।

मेरो अमुक पात्र
तिमी हामी जस्ता सिधा बोल्दैनन् यी भाट नेताहरु
हामी जसरी सिधा चल्दैनन्
यिनीहरु त
पैसाका आडमा
छलकपटका आडमा
चाहिँदा नचाहिँदा भ्रमहरु देखाएर
चुनाव जित्छन् र राजधानी केन्द्रित हुन्छन्
उतैउतै रमाउँछन् मनग्गे कमाउँछन् ।

जब जब चुनाव आउँछ
यसरी गाउँगाउँ टोल बस्तीमा
क्षणिक जात्रा भर्छन्
तमासा लगाउँछन्
सपना बाँढ्छन्
पैसा बगाउँछन्
चुनाव जित्छन्
फेरि उतैउतै हराउँछन् ।

मेरो अमुक पात्र
यिनीहरुको यो क्रम कहिलेसम्म चल्ने हो
यो थिति कहिलेसम्म टिक्ने हो
ए मेरो अमुक पात्र
तिमीसित केही कुनै उपाय छ कि ?

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *