देवनागरी लिपिरहितको इम्बोस्ड नम्बर प्लेट खारेज गर्न विश्व हिन्दू परिषदकाे माग

इन्भेष्टाेपेपर ।  पुष ४, २०७९

काठमाण्डाैँ । सवारी साधनमा प्रयोगमा रहेको नेपाली भाषा र देवनागरी लिपिलाई विस्थापित गरी इम्बोस्ड नम्बर प्लेटको जडान गर्ने सम्बन्धमा सरकारले गरेको असंवैधानिक र अव्यावहारिक निर्णयप्रति विश्व हिन्दू परिषद, नेपाल गम्भीर आपत्ति प्रकट गरेकाे छ ।

इम्बोस्ड नम्बर प्लेट प्रकरणको गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको देखिन्छ । संविधानको धारा ७ अनुसार सरकारी कामकाजको भाषालाई व्याख्या गर्दै उपधारा (१) बमोजिम “देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ“ भनेर प्रष्ट पारेको छ ।

विगत केही वर्ष अगाडि पनि तत्कालिन सरकारले इम्बोस्ड नम्बर प्लेटमा अङ्ग्रेजी लिपिको प्रयोग गर्न खोज्दा सम्माननीय सर्वोच्च अदालतले अन्तरिम आदेश मार्फत् इम्वोस्ड नम्बरको कार्यान्वयनमा रोक समेत लगाएको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले १० फागुन २०७४ मा इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको थियो ।  

नेपाली भाषा र देवनागरी लिपिलाई कमजोर र धरासायी बनाउने उद्देश्यसहित देवनागरी लिपिको नम्बर प्लेट विस्थापित गर्ने नीतिले नेपाली भाषामाथिको ठाडो प्रहार हो । नेपाली भाषाको देवनागरिमा लेखिएको नम्बर प्लेटलाई हटाएर अनिवार्य रूपमा अंग्रेजी इम्बोस्ड नम्बर प्लेट लाद्न खोजिनु भनेको नेपाल र नेपालीका लागि अत्यन्त दुर्भाग्यपूर्ण निर्णय हुने निश्चित छ । नेपाल सरकार यातायात विभागको यस्तो निर्देशनले भने जसरी भए पनि नेपाली भाषालाई विस्तारै विस्थापित गर्ने बाह्य षड्यन्त्रलाई नेपालका वर्तमान सरकारका नेतृत्व गरिरहेका राजनीति नेतृत्वहरूले पूर्ण रूपमा साथ दिनु अत्यन्तै गम्भीर विषय हो ।

यसरी नेपाली भाषालाई प्रयोग गर्नुपर्ने संवैधानिक अनिवार्यता हुँदा हुँदै पनि इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिने विदेशी भाषाबाट देशको संस्कृति माथि नै प्रहार हुने देखिन्छ । नेपालको पहिचानलाई विस्थापित गराउन लामो समय देखि योजनाबद्ध प्रयासहरू भइरहेका छन । धर्म निरपेक्ष जस्ता संवैधानिक व्यवस्था प्रति धेरै जनमानसलाई शुरु देखि नै शंका रहदै आएको छ ।

कुनै पनि राष्ट्रको एकता, अखण्डता र विकासमा भाषाको महत्वपूर्ण योगदान हुन्छ । राष्ट्रिय भाषाले देशलाई भावनात्मक र सांस्कृतिक रूपमा व्यवस्थित गर्न मद्दत गर्दछ। भाषा नै वैचारिक आदानप्रदानको आधारभूत तत्व हो। नेपाली भाषा र देवनागरी लिपि वर्षौंदेखि नेपालका अधिकांश मानिसहरूको दैनिक जीवनको हिस्सा बनेको छ।

नेपालको धार्मिक र सांस्कृतिक पहिचानलाई विस्थापित गराउन बारम्बार दुष्प्रयास हुनेगरेको छ । निजी स्वार्थसिद्धिका लागि राष्ट्र विरोधी तत्वको प्रभावमा परी देशको भाषा र संविधानको मर्म माथिनै कुठाराघात गरिरहेको तथ्य उजागर भैसकेको छ तसर्थ जनभावनाको कदर गर्दै यस्तो राष्ट्रहित विपरितको निर्णय तुरुन्त रद्द गरी नेपाली भाषा र देवनागरी लिपिमा नम्बर प्लेट छाप्ने व्यवस्थालाई यथावत् राख्नका लागि विश्व हिन्दू परिषद् नेपाल सरकार तथा सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ, विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *