नेपाली कांग्रेस संसदीय दलकाे नेतामा देउवा पुन: विजयी
इन्भेष्टाेपेपर । पुष ६, २०७९
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पुनः विजयी हुनुभएको छ ।
आज बिहान भएको मतदानमा प्रधानमन्त्री एवम् सभापति देउवाले ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ । सभापति देउवा ३९ मत अन्तरले विजयी हुनुभएको जानकारी निर्वाचन समितिले दिएको छ ।
संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा र पार्टीका महामन्त्री थापाले उम्मेदवारी दिनुभएको थियो । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेको थियो ।
देउवाको उम्मेदवारीको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनुभएको थियो भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहनुभएको थियाे ।
कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ ।
प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।
