नेपाली कांग्रेस संसदीय दलकाे नेतामा देउवा पुन: विजयी

न्भेष्टाेपेपर ।  पुष ६, २०७९

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा पुनः विजयी हुनुभएको छ । 

आज बिहान भएको मतदानमा प्रधानमन्त्री एवम् सभापति देउवाले ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ । सभापति देउवा ३९ मत अन्तरले विजयी हुनुभएको जानकारी निर्वाचन समितिले दिएको छ । 

संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा र पार्टीका महामन्त्री थापाले उम्मेदवारी दिनुभएको थियो । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेको थियो । 

देउवाको उम्मेदवारीको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहनुभएको थियो भने महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहनुभएको थियाे ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *