मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम

न्भेष्टाेपेपर ।  पुष ६, २०७९

काठमाडौं । मानवता प्रवर्द्धनका लागि थालिएको साङ्गीतिक कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कन्सर्ट हुने भएको छ ।

नेपथ्य ब्याण्ड र मानवसेवा आश्रमको सहकार्यमा देशका १० सहरमा कन्सर्ट सञ्चालन गर्ने तालिकाअनुसार भोलि सुर्खेतमा साङ्गीतिक कार्यक्रम सञ्चालन गर्न थालिएको हो । उक्त कार्यक्रमको पूर्वसन्ध्यामा आज आयोजित नेपथ्य परिवारसँगको भेटमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले चाहनाका यावत् पहाड कालान्तरमा निरर्थक हुने भएकाले यही जुनीमा पुण्य कमाउन सबैलाई आग्रह गर्नुभयो ।

“समाज भनेकै हामी भएकाले यसैको सेवाका लागि आफूलाई तयार पारौँ”, उहाँले भन्नुभयो, “मानवता अक्षयकोष निर्माण गरेर सुन्दर भवन निर्माणका लागि सहयोग गरौँ ।” सहयोगापेक्षी सडक मानवको सहयोगका निम्ति साङ्गीतिक कार्यक्रम गरिएको गायक गुरुङले बताउनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले मानवता बचाउन मानव सेवा आश्रमले गरेको योगदान अतुलनीय रहेको बताउनुभयो । आश्रमको कर्णाली प्रदेश कार्यालय निर्माणका लागि सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता प्रमुख सचिव डा खनालले गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिका सदस्य यमुना नेपालीले जीवित आत्माको सेवा गर्न हरेक व्यक्तिमा मानवता पलाउन सकेमात्र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने जनाउनुभयो । समाजसेवी हरि विष्टले जन्मदिनमा केक काटेर फजुल खर्च नगरी दुःखमा परेका मानवको जीवनमा सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

मानव सेवा आश्रम कर्णाली प्रदेशका संयोजक सिर्जना ओलीले मानवताको माला गाँस्ने प्रयासमा लाग्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “विद्रोहले मानवतालाई फुटाउँछ तर अभियानले मान्छेहरूलाई जुटाउँछ । यस्ता कार्यमा हामीले जोड दिनुपर्छ ।” संयोजक ओलीले भोजनका लागि भजन कार्यक्रम र राष्ट्रिय उद्धार अभियान सम्पन्न गरेसँगै साङ्गीतिक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कर्णाली प्रदेश सरकारले सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेकाले मानवोचित व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । सुषुप्त मानवतालाई झकझक्याउन मेची–महाकाली अभियान सम्पन्न गरिएको बताउनुभएका अध्यक्ष अधिकारीले बेसहारा जीवन जिइरहेका मानवका लागि हरेक मानवताप्रेमीको तन, मन र धनको त्रिवेणीबाट सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *