इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु

न्भेष्टाेपेपर ।  पुष २७, २०७९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गर्नुभयो ।

दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ । मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ ।

दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहनुभएको छ ।

त्यसैगरी साविक नेपाल इन्भेष्टमेन्ट बैंकमा स्वतन्त्र सञ्चालकका रुपमा रहनुभएको मञ्जु बस्नेत अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालकका रुपमा रहनुहुनेछ । एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष पाँडेले यो मर्जरले वित्तीय क्षेत्रमा थप ऊर्जा प्रदान गर्नुका साथै नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई थप उत्साह प्रदान गरी अन्य बैंकलाई पनि मर्जरका लागि प्रेरित गरेको बताउनुभयो ।

त्यसैगरी मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले यो मर्जर देशको बैंकिङ क्षेत्र र अर्थतन्त्रका लागि सुखद एवं सकारात्मक कदम भएको बताउनुभयो । मर्जरपछि दुवै बैंकका असल परम्परा, ग्राहकको सेवा, कर्मचारी व्यवस्थापन जस्ता सकारात्मक पक्षलाई अङ्गिकार गर्नुका साथै शेयरधनीलाई प्रतिफलमा न्यायोचित वृद्धि गर्दै जाने उहाँको भनाइ छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले लिएको नीतिअनुसार पछिल्लो समय बैंक तथा वित्तीय एकापसमा गाभ्ने÷गाभिने र प्राप्ति प्रक्रियामा गइरहेका छन् । चालु आर्थिक वर्षको पुसमा मात्र आठ वाणिज्य बैंक एकापसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर चार कायम भएका छन् ।

यसअघि प्रभु बैंक लिमिटेडले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडका नामबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एकापसमा गाभिएर ‘ग्लोबल आईएमई बैंक लिमिटेड’ का नामबाट सोमबारदेखि एकीकृत कारोबार थालेका थिए । त्यस्तै कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक एकापसमा गाभिएर ‘कुमारी बैंक लिमिटेड’ का नामबाट पुस १७ गतेदेखि एकीकृत कारोबार शुरु गरेका थिए ।

हिमालयन बैंकले सिभिल बैंक लिमिटेडलाई प्राप्तिका लागि सहमति गरिसकेको भए पनि एकीकृत कारोबार भने शुरु भइसकेको छैन । दुवै बैंकले पुस २८ गतेका लागि वार्षिक साधारण सभा बोलाएका छन् । आगामी माघ महिनाभित्रै एकीकृत कारोबार गर्ने यी बैंकको तयारी छ । त्यस्तै लक्ष्मी बैंक र सनराइज बैंकले पनि एकापसमा मर्जरमा जाने सम्झौता गरिसकेका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *