प्राकृतिक वासस्थानमै छोडियो हुचिल

इन्भेष्टाेपेपर । जेठ ३०, २०८०

गोरखा ।  डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक वासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते शहीदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास थापाको घरमा अवैधरूपमा राखिएको हुचिललाई १२ दिनपछि सोमबार साँझको समयमा प्राकृतिक वासस्थानमा पुर्‍याएर छाडिएको डिभिजन वन कार्यालय गोरखाका वनअधिकृत विनोद गायकले जानकारी दिनुभयो ।

हुचिल रातका समयमा स्वतन्त्ररूपमा सक्रिय हुने प्रजातिको पक्षी भएकाले कृत्रिम वासस्थान र आहाराबाट लामो समयसम्म बचाउन कठिन हुने जनाउँदै प्राकृतिक वासस्थानमै सुरक्षित छाड्न जिल्ला अदालत गोरखाले निर्देशन दिएपछि कार्यालयले शहीदलखन गाउँपालिकाको तामली भिरमा लगेर हुचिललाई उसकै वासस्थानमा छाडिएको उहाँले बताउनुभयो ।

“हुचिललाई उसको साबिकको वासस्थानबाहेक अन्य ठाउँमा छाड्दा आहाराको खोजीमा समय लाग्ने पनि हुन्छ”, वनअधिकृत गायकले भन्नुभयो, “यसलाई सजिलै प्राकृतिक वासस्थानमा घुलमिल हुन सजिलो होस् भनेर पनि प्राकृतिक वासस्थानमा छाडिएको हो ।”

बरामद पक्षीको जीवनरक्षाका लागि प्राकृतिक स्थानमै लगेर छाड्नका लागि अदालतले अनुमति दिएपछि डिभिजन वन कार्यालय गोरखाका अनुसन्धान अधिकृत गायक नेतृत्वको टोलीले बरामद भएको हुचिललाई प्राकृतिक वासस्थानमा छाडेको हो ।

वडाध्यक्ष दिलीपनारायण थापा, स्थानीयवासी, प्रहरी र पत्रकारको रोहवरमा हुचिललाई प्राकृतिक वासस्थानमा लगेर छाडिएको वनअधिकृत गायकले जानकारीले दिनुभयो । “हुचिलको मुख्य आहारा खरायो, न्याउरी मुसा, मुसालगायत हो”, उहाँले भन्नुभयो, “दिनभरि आराम गर्ने र रातको समयमा आहाराको खोजीमा निस्कने र आहारा गर्ने गर्दछ ।”

नेपालको पहाडी भेगमा पाइने प्रजातिको हुचिल तराई भेगमा पाइने हुचिलभन्दा ठुलो हुने वनअधिकृत गायकको भनाइ छ । नेपालमा पाइने २३ प्रजाति हुचिलमध्ये नौ प्रजातिको हुचिल भने लोपोन्मुख अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । नेपालमा हुचिललाई किसानको साथी पनि भन्ने गरिन्छ । हुचिलसहित पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत गोरखामा अवैध वन्यजन्तुको आखेटोपसार ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको वनअधिकृत गायकले जानकारी दिनुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *