आमा समूहद्वारा व्यावसायिक ‘फेन्सी चप्पल’ उत्पादन

न्भेष्टाेपेपर । साउन ३०, २०८०

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन् ।

पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिनुभयाे । उहाँका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन् ।

बजारमा बाहिरबाट आयात गरेका चप्पलको खरिद बिक्री हुँदै आएकामा आमा समूहले नै व्यावसायिकरूपमा चप्पल उत्पादन सुरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिव निसा जिसीले जानकारी दिनुभयाे। फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको उहाँले बताउनु भयाे ।

महिलाले फेन्सी चप्पल सामूहिकरूपमा बनाउन सुरु गरेको उद्योगको सोमबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र वडाध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाको उद्यमशीलताको प्रवर्द्धन गर्नेमा जोड दिनुभयाे ।

सो अवसरमा गलेश्वर मन्दिर परिसरमा शनिबार राखिएको घुम्ती प्रदर्शनी कक्षबाट ५९ जोर चप्पल बिक्रीसमेत भएको समूहले जनाएको छ । सो समूहले उत्पादन गरेका चप्पलको गलेश्वरमा बिक्रीकक्षसमेत सञ्चालन गर्ने योजना बनाएको समूहका अध्यक्ष फूलकुमारी रोकाले जानकारी दिनुभयाे। रासस 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *