सिपालु गृह श्रमिकका फेरिएको दैनिकी

न्भेष्टाेपेपर । भाद्र ९, २०८०

काठमाडौँ ।  विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवानलाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउँदै आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्नुहुन्छ । 

श्रीमायालाई मासिक ४० हजार कमाउन न नियमित कार्यालय धाउन पर्छ नत कसैको नमिठो बचन नै सुन्नुपर्छ । उहाँ भान्साको काम सकेपछि बचेको समयमा घरमै बसेर भगवानलाई चढाउने पूजा सामग्री बनाउँदै राम्रो आम्दानी गर्नुहुन्छ ।

श्रीमायाले दैनिक २५ वटासम्म पूजा सामग्री ‘चोप्पेन’ बनाउनुहुन्छ । जसलाई उहाँले प्रतिगोटा ५० रुपियाँमा बेच्दै आउनुभएको छ । बौद्धमा बस्ने श्रीमाया उमेरले ५० काटिसक्नुभएको छ, तर उहाँमा चोप्पेन बनाउने जाँगर भने पहिलेजस्तै नै छ ।  

श्रीमाया गृह श्रमिक हुँ भन्दा आफूलाई आनन्द आउने बताउनुहुन्छ । आफ्नो घरमा बसेर राम्रो आम्दानी भएकोमा उहाँ खुसी हुनुहुन्छ । श्रीमाया भन्नुहुन्छ–‘‘जति बेला कोरोनाको कारण मठ मन्दिर र पूजाआजा ठप्प थियो त्यस समयमा भने व्यापार कम थियो । अहिले पुरानै लयमा व्यापार फर्किएको छ । काम गर्ने उत्साह पनि छ । शरीरले सक्दासम्म यही काम गर्छु, धर्म र पैसा दुवै कमाइने । सोह्र वर्ष पहिले काम सुरु गर्दा सबै परिवार यही पेसामा लागेका थियौँ । यसकै आम्दानीले छोराछोरी बढेर विदेश पलायन भए । अहिले म एक्लैले गर्छु तर यस पेसालाई मेरो उच्च सम्मान छ । ” 

त्यस्तै काठमाडौँको मूलपानीमा विगत ३० वर्षदेखि सिलाइकटाइको काम गर्दै आउनुभएकी मञ्जु गजुरेल पनि गृह श्रमिकको रूपमा काम गर्न पाउँदा दङ्ग हुनुहुन्छ । उहाँले सुरुमा एक्लै काम थाल्नुभयो । अहिले ११ जना गृह श्रमिकको समूहको अगुवाइमा उक्त काम समाल्दै आउनुभएको छ । एक्लैभन्दा समूहमा काम गर्दा सहज भएको उहाँको अनुभव छ । नाम खुलेर भन्न नसक्ने महिला समूहमा आएका थिए । बिस्तारै श्रम बेचेर आम्दानीको स्रोत पहिचान गर्न थालेपछि महिलामा आत्मविश्वास बढ्दै गएको गजुलेल बताउनुहुन्छ ।  

“आफ्नो हातमा सीप नहुँदा आर्थिकरुपमा निकै खुम्चिन परेको थियो, अहिले भने आफ्ना लागि कसैसँग माग्नुपरेको छैन, उल्टै परिवारलाई सहयोग गर्दै आएको छु,” खुसीका साथ उहाँले भन्नुभयो । यद्यपि पछिल्लो समय उहाँलाई चिन्ता थपिएको छ । कोरोनापछि उत्पादन भएका सामग्रीले राम्रो बजार नपाउँदा उहाँमा चिन्ता थपिएको हो । गजुरेलको समूहले गृह श्रमिकको रूपमा नेपाली दौरा सुरुवाल र साना बालबालिकाको लागि न्यानो कपडा सिलाउँदै आएको छ । उत्पादन गर्नुभएको सामग्री न्युरोडमा बिक्री वितरण हुने गरेको उहाँ बताउनुहुन्छ ।  

गजुरेलले भन्नुभयो, “पहिलेजस्तो होइन अहिले बजारमा प्रतिस्पर्धा छ, उत्पादन भएका सामग्री कति बेला घरमा थन्कने र बजार नपाउने हो पत्तो छैन ।” उहाँले स्थानीय सरकारसमक्ष अनुरोध गर्दै उत्पादन भएका सामग्री बिक्रीको सुनिश्चितता गरिदिए काम गर्ने वातावरण थप सहज हुने आशा व्यक्त गर्नुभयो । गृह श्रमिकले ढुक्कका साथ सामग्री उत्पादन गर्न सक्ने गरी वातावरण बन्दिए हुन्थ्यो भन्नुहुन्छ, गजुरेल ।   

त्यसैगरी, जोरपाटीमा बस्ने शान्ता कोइरालाले पनि विगत दश वर्षदेखि गृह श्रमिकको रूपमा काम गर्दै आउनुभएको छ । उहाँले स्वागतका लागि प्रयोग गर्ने खादा बनाउने काम गर्दै आउनुभएको छ । कोइराला घरमा बसेरै राम्रो आम्दानी हुनेभएपछि घरखर्च चलाउन सहज भएको बताउनुहुन्छ । खादा बनाउनका लागि मेहनेत र लगानी धेरै छ त्यसको आधारमा सामग्रीको बजार छैन भन्नुहुन्छ, उहाँ ।

“लामो समयदेखि गृह श्रमिकको रूपमा काम गरेकालाई  सरकारले केही दिन बिरामी भएर बस्दा पनि गाँस बासमा समस्या नहुने गरी थोरै केही आर्थिक व्यवस्था गरिदिए हुन्थ्यो,” उहाँले स्थानीय सरकारसँग आशा व्यक्त गर्नुभयो  । 

गृह श्रमिककै रूपमा बुढानीलकण्ठमा विगत पाँच वर्षदेखि फाइबर माला बनाउने रञ्जु तामाङले भने अन्य गृह श्रमिकले भन्दा फरक कहानी सुनाउनुभयो । प्रयोग भइसकेका फाइबरका झोलाबाट घर सजावटको माला बनाउँदै आउनुभएको उहाँले आफूले उत्पादन गरेका फाइबर मालाले बजार नपाएकोप्रति दिनरात चिन्ता लागिरहेको बताउनुभयो । 

“झोलाबाट माला बनाउन सिक्दा आफूले ऋण खोजेर सिकेको र अहिले बनाउनको लागि पनि उत्तिकै मेहनत गर्नुपर्छ । जति मेहनत गरेर माला तयार गरे पनि किन्ने मान्छेको अभाव छ,” उहाँले भन्नुभयो । तामाङका अनुसार विशेष गरी घर सजावटको लागि बढी प्रयोग हुने उक्त माला बनाउनका लागि कम्तीमा पनि दुई दिनको समय लाग्छ । यसरी तयार गरेको सामग्री सहज बिक्री हुन भने निकै कठिन छ । 

एकल महिला उहाँलाई मेहनतका साथ तयार गरिएका माला समयमा नै बिक्री नहुँदा दैनिक घर खर्च चलाउन पनि समस्या पर्ने गरेको छ । तामाङ भन्नुहुन्छ, “कहिले कहिले चिनजानको साथीभाइबाट मालाको माग हुने गरेको भए पनि व्यावसायिकरुपमा यसले बजार पाउन भने सकेको छैन ।”

गृह श्रमिकका सामग्रीको बजारीकरण सहज बनाइदिन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । तयार गरेको लामो समयसम्म पनि माला बिक्री नहुँदा लागत मूल्यभन्दा कममा माला बेच्नुपरेको गुनासो उहाँले सुनाउनुभयो । तामाङले बजार नपाउँदा १२ सय रुपियाँ पर्ने माला पाँच सय रुपियाँमा बेच्दै आउनुभएको छ ।  

पछिल्लो समय गृह श्रमिक एक्लैएक्लै घरमा बसेरभन्दा पनि श्रमिककै अगुवाइ गर्ने विभिन्न संस्था सवा नेपाल, क्लास नेपाल, होमनेट नेपाल नामक संस्थामा आबद्ध भएर  काम गर्दै आउनुभएको छ । यसरी काम गर्दा थप ऊर्जा थपिने गृह श्रमिक चन्द्रिका भट्टराईले अनुभव सुनाउनुभयो । 

गृह श्रमिकको अवस्था

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएओ) महासन्धि, १७७ का अनुसार गृह श्रमिक भन्नाले रोजगारदाताको कार्यस्थलबाहेक कामदारको घर वा निजले छनोट गरेको स्थानमा बसेर पारिश्रमको लागि श्रम गर्ने व्यक्तिलाई बुझाउँछ । आइएलओले सन् २०१९ मा गरेको अध्ययन अनुसार विश्वभर २६ करोडभन्दा बढी गृह श्रमिक छन् । जसमा तीन करोड ५० लाखले विकसित देशको प्रतिनिधित्व गर्छन् । यो सङ्ख्या विश्वव्यापी श्रम शक्तिका श्रमिकमध्ये आठ प्रतिशत हो । तीमध्ये १४ करोड ७० लाख महिला छन् ।

नेपालको सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागका अनुसार जम्मा श्रम शक्तिको १९ दशमलव दुई प्रतिशत गृह श्रमिक रहेका छन् । जसमा ७० प्रतिशतभन्दा बढी हिस्सा महिला छन् । होमनेट दक्षिण एसियाको अनुमान अनुसार दक्षिण एसियाका भारत,  बङ्गलादेश, पाकिस्तान र नेपालमा मात्र छ करोड ७० लाख गृह श्रमिक रहेका छन् ।    

गत वैशाखमा होमनेट इन्टरनेस्नलको आयोजनामा काठमाडौँमा गृह श्रमिक सम्मेलन भएको थियो । सम्मेलनमा २९ देशका एक सय २७ जना गृह श्रमिक सहभागी थिए । होमनेट साउथ एसियाको क्षेत्रीय संयोजक सृष्टि जोशी मल्लले गृह श्रमिकको थप व्यवस्थापनको पाटो अझै चुनौती रहेको बताउनुभयो ।  

श्रमिकले मेहनेतका साथ उत्पादन गरेका सामग्रीको उपयुक्त बजार व्यवस्थापनको पाटो मिलाउनको लागि सम्बन्ध भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । तारकेश्वर नगरपालिकाको उपप्रमुख सृजना बुर्लाकोटीले आफूले नगरपालिकामा श्रम डेक्सको स्थापना गरेको जानकारी दिँदै यसका लागि काठमाडौँ उपत्यकाको अन्य स्थानीय तहसँग पनि समन्वय गरेर गृह श्रमिकको हक हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । (रासस )

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *