चिसाे बढेसंगै दमका रोगीले के–के कुरामा ध्यान दिने ?

न्भेष्टाेपेपर । कात्तिक १, २०८०

दम श्वासप्रश्वासमा अवरोध गर्ने रोग हो । प्रायः चुरोट बढी खाएकाहरूलाई  बुढेसकालमा देखिने दम (सिओपिडी) हो । त्यस्तै, अर्को एलर्जी खालको दम हुन्छ, जुन सानो उमेरमा पनि हुने हुन्छ । चुुरोट नखाएकालाई पनि हुने आज्मा भन्ने दम हुन्छ । 

यसमा हाम्रो श्वासनलीले धुलो, धुवाँ र बाहिरी वातावरणसँग इन्टड्याक्सन हुँदा श्वासनलीका नसाहरू साँघुरो भएर हुने दम आज्मा हो । धुवाँमा पकाउने कुराहरूले श्वासप्रश्वासमा अवरोध गरेको छ भने त्यो सिओपिडी दम हो । यी दुई खालका दमलाई छुट्याएर हेर्नुपर्ने हुन्छ । 

दीर्घ दमरोगीमा सास फेर्दा सक्रिय हुने मांसपेसी विभिन्न कारणले कमजोर हुँदै जान्छन् । खाना खाँदा दम बढ्नु, पाचन प्रणाली कमजोर हुनु, खानामा रुचि घट्नुजस्ता कारणले बिरामीले आवश्यक मात्रामा खाना खान सक्दैनन् र राेग प्रतिरोधी क्षमतासमेत कमजोर हुँदै जान्छ । जसले गर्दा रोग निको हुन समय लाग्ने हुन्छ । तसर्थ, दम रोगका बिरामीले खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

मुख्य लक्षण

  • स्याँ–स्याँ हुने ।
  • खोकी लाग्ने ।
  • कहिलेकाहीँ छाती दुख्ने । 
  • ज्वरो आउने ।
  • खकार पाकेको आउने ।

ध्यानदिनुपर्ने कुरा

  • धुवाँ, धुलो र चिसोबाट बच्ने । 
  • निमोनिया र इन्फ्लुइन्जाको भ्याक्सिन (खोप) लगाउने । 
  • निमोनियाको भ्याक्सिन हरेक पाँच–पाँच वर्षमा र इन्फ्लुइन्जाको भ्याक्सिन (खोप) हरेक वर्ष लगाउनुपर्छ । 
  • धूम्रपान नगर्ने । 
  • धुवाँमा बसेर पकाउन कम गर्ने । पकाउनैपरे खुला स्थान, धुवाँ सजिलै बाहिर जाने स्थानमा बसेर पकाउने । धुवाँरहित चुलोमा बसेर पकाउँदा राम्रो । 

कस्ता खानेकुराकाे सेवन गर्ने ?

प्रोटिनजन्य खानेकुराहरू जस्तै– गेडागुडी, दाल, अन्डा, बोसो नभएको मासु खाने । दीर्घरोगीलाई प्रोटिनजन्य खानेकुराले इन्फेक्सनसँग लड्न मद्दत पुर्‍याउँछ । 

शक्तिवर्धक खाना :- खानामा अरुचिका कारण बिरामीमा तौल घट्दै जान्छ । पर्याप्त खानेकुराको अभावमा शरीरलाई आवश्यक शक्ति आर्जन गर्न मांसपेसी बढी प्रयोग हुन्छन् । जसले गर्दा कमजोरीपन हुन्छ । तसर्थ, दैनिक प्रशस्त मात्रामा शक्ति दिने खानेकुरा खानुपर्छ । 

आवश्यक  मात्रामा चिल्लो :- चिल्लो खानेकुराको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो हुन्छ । त्यसैले, खाना पकाउँदा वनस्पति तेलको प्रयोग गरी चिल्लो खानेकुरा खान सकिन्छ । तर, पशुजन्य स्रोतबाट प्राप्त हुने चिल्लो खानेकुरा खानुहुँदैन । जस्तै, बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

प्रोटिन :- दम रोगीमा श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसको पुनर्निर्माणका लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ । 

झोलिलो खानेकुरा :- शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ । त्यसैले, प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । त्यस्तै, नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नुपर्छ । 

— एजेन्सीकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *