टी-२० मा नेपालले बनायाे तीन विश्व कीर्तिमान : मंगोलिया २ सय ७३ रनले पराजित

न्भेष्टाेपेपर । असाेज १०, २०८०

हाङझाउ । चीनमा जारी १९औंएसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले मंगोलियमाथि विश्व किर्तीमानसहितको जित निकालेको छ । समुह ‘ए’ को पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गर्‍यो । टि ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा रनको आधारमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विश्व कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले मङ्गोलियालाई जितको लागि तीन सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य दिएको थियाे । यो लक्ष्य विश्व टी-२० अन्तर्राष्ट्रियमा हालसम्मकै ठूलो हो । टि–ट्वेन्टीमा अहिलेसम्म कुनैपनि देशले ३ सय रन पार गर्न सकेका छैनन् ।यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान दुई  सय ७८ रन बनाएका थिए ।

नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए । यसैगरि कुशलले बनाएको ३४ बलको शतक पनि टि–ट्वेन्टीतर्फको विश्व किर्तीमान हो ।

यसअघि सर्वाधिक छिटो शतक ३५ बलमा बनेको थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।

यस्तै ९ बलमा अर्धशतक प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले पनि सर्वाधिक कम बलमा अर्धशतक बनाउने किर्तीमान राखेका छन् । यसअघि उक्त किर्तीमान भारतका युवराज सिंहको नाममा १० बलको थियो । दिपेन्द्रले लगातार ६ छक्का प्रहार गरेका थिए ।

यस्तै कप्तान राहित पौडेलले २७ बलमा दुई चौका र ६ छक्कासहित ६१ रन बनाए । तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले एक सय ९३ रनको साझेदारी रह्याे । यो टी-२० मा नेपाली ब्याट्सम्यानले हासिल गरेको हालसम्मको उच्च साझेदारी हो ।

जवाफमा ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा अलआउट हुनुपूर्व ४१ रन मात्रै जोड्न सक्यो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश कोहोरा र सन्दिप लामिछानेले २–२ विकेट लिए ।

समुहको दोस्रो खेलमा नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्सको सामना गर्नेछ । क्रिकेटतर्फ भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै क्वाटरफाइनलमा राखिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *