‘जाजरकोट भूकम्प बझाङको परकम्प होइन’

न्भेष्टाेपेपर । कात्तिक १८ २०८०

काठमाडौँ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जाजरकोट भूकम्प गत महिना बझाङमा गएको भूकम्पको परकम्प नभएको जानकारी दिनुभएको छ । 

उहाँले गएराति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प बझाङको परकम्प नभएर नयाँ भूकम्प भएको बताउनुभएको हो । 

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्र जमिनको सतहदेखि १० देखि १५ किलोमिटर भित्र रहेको उहाँको भनाइ छ । साथै सो भूकम्पपछि आज नै चारवटा परकम्प गएको पनि बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि एक घण्टामा चार परकम्प गएको हो । केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर १२ बजेर ८ मिनेटमा ४ दशमलव ५, १२ बजेर २९ मिनेटमा ४ दशमलव २ र १२ बजेर ३५ मिनेटमा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको हो ।

नेपालको पश्चिम क्षेत्रमा विगत पाँच सय वर्षदेखि ठुलो भूकम्प नगएकाले जुनसुकै बेलामा जानसक्ने भएकाले सचेत रहनुपर्ने डा अधिकारीले बताउनुभयो । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको सम्भावित क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढ्दो देखिएको छ ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *