चीनसँग ‘स्वस्थ’ सम्बन्धका लागि काम गरिरहेका छौँ : अमेरिका

न्भेष्टाेपेपर । कात्तिक २५, २०८०

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच तनावपूर्ण सम्बन्धपछि वासिंटन र बेइजिङबीच ‘स्वस्थ आर्थिक सम्बन्ध’ पुनर्स्थापित हुनुपर्नेमा जोड दिएका छन्। युक्रेनमाथि आक्रमणका लागि रुसलाई रक्षा उपकरण आपूर्ति गर्ने चिनियाँ कम्पनीविरुद्ध एकतर्फी कदम चाल्न अमेरिकापछि नहट्ने उनले बताए।

‘हामी हाम्रो अर्थतन्त्रलाई चीनबाट अलग गर्न चाहँदैनौँ,’ सान फ्रान्सिस्कोमा चीनका उपप्रधानमन्त्री हे लिफेङसँग दुईदिने बैठकपछि येलेनले भने, ‘यसले अमेरिका र चीन दुवैलाई हानि पुर्‍याउनुका साथै विश्वलाई अस्थिर बनाउनेछ।’

अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका प्रधानमन्त्री सी जिनपिङबीच आगामी साता क्यालिफोर्नियामा हुने एपेक (एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन) शिखर सम्मेलनमा भाग लिन जानुअघि यो बैठक भएको हो।

वासिंटन र बेइजिङबीचको सम्बन्ध विशेष गरी पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा बिग्रिएको थियो। ट्रम्पले अमेरिकी उत्पादनलाई बढावा दिने आफ्नो अभियानको एक भागको रूपमा चिनियाँ आयातमा करवृद्धि गरेका थिए।

बाइडेनको शासनकालमा वक्तव्यबाजीमा सुधार नआउँदा र बेइजिङले रुससँगको सहकार्यलाई बढावा दिँदा सम्बन्ध थप तनावपूर्ण बनेको छ। हालैका महिनामा बाइडेन प्रशासनले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन, येलेन र वाणिज्यमन्त्री जिना राइमोन्डोको चीन भ्रमणसहित केही स–साना कदम चालेको छ।

येलेनले भने, ‘विगत दुई दिनमा, चिनियाँ उपप्रधानमन्त्री र मैले यस जगलाई स्पष्ट, प्रत्यक्ष र उत्पादक वार्ताका साथ निर्माण गरेका छौँ। व्यक्तिगत कूटनीतिको विकल्प छैन। थप वार्ताका लागि अर्को वर्ष चीन जाने सहमति भएको छ।’

यद्यपि, येलेनले आफ्ना समकक्षीलाई चेतावनी दिँदै चिनियाँ कम्पनीहरूले रुसद्वारा गरिएको युक्रेन आक्रमणमा सहयोग गरिरहेको कुरा वासिंटनलाई थाहा भएको बताएका थिए।

उनले भने, ‘हामीले प्रतिबन्धका कार्यक्रम लागू गरेका छौँ, तर रुसको सैन्य प्रयासका लागि महत्त्वपूर्ण उपकरणहरू अझै पनि प्रतिबन्धबाट बचिरहेका छन् र रुसलाई सहयोग पुर्‍याइएका छन्। यसप्रति हामी चिन्तित छौँ।’

येलेनले आफूले चिनियाँ सरकारको संलग्नताको आरोप नलगाएको तर केही चिनियाँ निजी कम्पनीका साथै केही वित्तीय संस्थाहरू पनि ‘त्यो प्रवाहलाई सहज तुल्याउन’ संलग्न रहेको बताए।

‘मैले हाम्रो कुराकानीमा जोड दिएँ– हामी चीनले यस विषयमा कडा कदम चालेको हेर्न चाहन्छौँ,’ उनले भने, ‘कुनै कदम नचालेमा वासिंटनले थप प्रतिबन्ध लगाउन सक्छ।’ (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *