पञ्चकोटमा एक सय पैँतिस फिट अग्लो कलश निर्माण हुँदै

न्भेष्टाेपेपर । माघ १३, २०८०

ढोरपाटन (बागलुङ) ।  बागलुङ नगरपालिका-६ पञ्चकोटमा विभिन्न धार्मिक संरचनासहित विश्वशान्ति गण्डकी कलशको निर्माणका लागि शिलान्यास गरेको नौ वर्ष पूरा भयो । तत्कालीन प्रधानमन्त्री स्व सुशील कोइरालाले शिलान्यास गर्नुभएको उक्त क्षेत्रमा अहिले गण्डकी माताको मन्दिर, गरुणशिला, हनुमान मूर्ति, सिसमहल, सभाहल, भोजनालय तथा हवनकुण्डलगायत संरचना बनिसकेका छन् । 

कलशको काम भने पाँच प्रतिशत मात्रै सकिएको छ । मुक्तिनाथ पिठाधीश कमलनयनाचार्यको परिकल्पनामा पञ्चकोटमा मठमन्दिर निर्माण भएका हुन् भने एक सय ३५ फिट अग्लो कलश निर्माणाधीन अवस्थामा छ । पञ्चकोट धामका अध्यक्ष दामोदर शास्त्री दाहालले सबै संरचना दुई अर्बको योजना रहेको जनाउँदै कलश निर्माणमा मात्रै चार करोड लाग्ने बताउनुभयो । कलशको हालसम्म पाँच प्रतिशत मात्रै काम सकिएको उहाँको भनाइ छ । 

हाल एक तलाको काम सम्पन्न भएको जनाउँदै कलश १२ तले हुने अध्यक्ष दाहालले बताउनुभयो । पञ्चकोटमा धार्मिक संरचना निर्माण गर्दा अहिलेसम्म करिब ५५ करोड खर्च भएको उहाँको भनाइ छ । यहाँ पाँच हजार पाँच सय ५५ किलोको घन्टीसमेत राख्ने तयारी छ । संरचना निर्माणका लागि हरेक वर्ष महायज्ञ लगाएर रकम संकलन गरिदै आएको छ भने केही संरचनामा बागलुङ नगरपालिका, गण्डकी प्रदेश सरकार र पर्यटन मन्त्रालयको पनि लगानी रहेको अध्यक्ष दाहालले बताउनुभयो । 

कलशको बाहिरी स्वरुप कलश जस्तै भए पनि भित्री खण्डमा १६ कोठा बन्ने र ती कोठामा धार्मिक क्रियाकलाप सञ्चालन हुने उहाँ बताउनुहुन्छ । अध्यक्ष दाहालले भन्नुभयो, “नौ वर्षदेखि यहाँ लगातार संरचना निर्माण भइरहेका छन्, करोडौँको संरचना बनिसकेका छन्, अझै धेरै बन्ने चरणमा छन्, अहिले कलश निर्माणलाई जोड दिएका छौँ, कलश निर्माणका लागि आगामी फागुन ९ देखि २३ गतेसम्म बागलुङको पञ्चकोटमा ब्रम्हाण्डीय महायज्ञ गर्ने तयारीमा छौँ, यसका लागि राष्ट्रव्यापी कलश यात्रा सुरु भएको छ, यो महान् अभियानमा जोडिन सबैलाई आग्रह गछौँ ।”

पञ्चकोट क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले यस क्षेत्रलाई धार्मिक पर्यटक गन्तव्यका रुपमा विकास गर्न संरचना निर्माणमा जुटेको बताउनुभयो । विश्वका धार्मिक पर्यटकलाई एक पटक पञ्चकोटको दर्शन गराउने उद्देश्यले करिब एक दशकदेखि निरन्तर काम गरिरहेको उहाँको भनाइ छ । हालसम्म दाता तथा प्रदेश र केन्द्र सरकारको सहयोगमा पञ्चकोटमा विभिन्न संरचना निर्माण भएको प्रपन्नाचार्य बताउनुहुन्छ । (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *