विश्वका चुनौतीहरूको विश्वव्यापी समाधान आवश्यक : उपराष्ट्रपति यादव

न्भेष्टाेपेपर । जेठ २९, २०८१

काठमाण्डाैँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौतीहरू– जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता– विशाल र जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यी चुनौतीहरुको विश्वव्यापी समाधान आवश्यक रहेको बताउनु भएको छ । 

नेपाल खुला विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा ३०औं अन्तर्राष्ट्रिय दिगो विकास अनुसन्धान सम्मेलनको समुद्घाटन गर्दै उहाँले उक्त आवश्यकता औल्याउनु भएको हो । 

‘नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण, दिगो कृषि र पर्यापर्टन मार्फत ग्रामीण समुदायहरूलाई सशक्तिकरण गर्ने नेपालको प्रयास वातावरणसँग सुमधुर सम्बन्ध कायम गर्ने केही महत्वपूर्ण उदाहरणहरु हुन्’ उहाँले भन्नुभयो, ‘ विश्व नै जलवायु परिवर्तन लगायतका समस्याको चपेटामा परेकाले एउटा देशको प्रयासले मात्र पुग्दैन । कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतिहरूलाई एक्लै सम्बोधन गर्न पनि सक्दैन । त्यसैले विश्वका चुनौतीहरूको विश्वव्यापी समाधान आवश्यक छ । ’

उपराष्ट्रपति यादवले यो सम्मेलन विश्वव्यापी सहयोगको भावना अभिवृद्धि गर्दै सुनौलो र दिगो भविष्य निर्माणका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न उत्प्रेरित गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । ‘नेपालको समृद्ध संस्कृति र प्राकृतिक वैभव स्थलमा भइरहेको यो जमघटले मानव सभ्यता र प्रकृतिबीचको सन्तुलन कायम गर्ने साझा सूत्र पत्ता लगाउन सक्नु पर्दछ’ उहाँले भन्नुभयो, ‘दिगो विकासप्रति हाम्रो प्रतिबद्धता छँदैछ, सिंगो पृथ्वीको संरक्षण गर्दै भावी पुस्ताको भविष्य सुरक्षित राख्न पनि हामी कटिबद्ध छौं । ’

उपराष्ट्रपति यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौतीहरू– जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता – विशाल र जटिल रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यद्यपि, यी चुनौतिहरू भित्र समाज र अर्थतन्त्रहरूलाई समान र दिगो रूपमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसरहरु पनि रहेका छन् । ’

उहाँले विभिन्न अनुसन्धान पृष्ठभूमि सहितका विज्ञहरू यो सम्मेलनमा आ–आफ्ना ज्ञान, रणनीति र अनुसन्धानहरू साझा गर्न भेला भएको जानकारी पाएर आफूलाई खुशी लागेको बताउनु भयो ।

‘म तपाईंहरू प्रत्येकलाई सक्रिय रूपमा छलफलमा संलग्न हुन, आफ्ना वैज्ञानिक तथ्यहरू साझा गर्न र नवीन समाधानहरू प्रस्तुत गर्न आग्रह गर्दछु ’ उहाँले भन्नुभयो,  ‘परम्परागत ज्ञान प्रणालीको महत्व, नवीकरणीय ऊर्जाको भूमिका, संरक्षण प्रयासको आवश्यकता र दिगोपनलाई सम्बोधन गर्न अत्याधुनिक प्रविधिहरूलाई पनि आत्मसात गर्दै अगाडि बढ्न आवश्यक छ । ’ उहाँले नेपाल दिगो विकास क्षेत्रको समस्याहरुको अभिनव समाधान र सहयोगको पक्षमा रहेको समेत बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *