विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ मन्त्री भट्टराई

न्भेष्टाेपेपर । साउन ५, २०८१

पाटन ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।  काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा  आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उहाँले  अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भन्नुभयो । 

“विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर सम्वाद  चल्नुपर्छ, युवा देशबाट विदेशिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौँ ।” मन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्नेछ जनाउनुहुँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राख्नुभयो । उहाँले युवाहरुको चाहानमा देशको विकास गर्ने गरी उनीहरुकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्छ भन्नेमा जोड दिनुभयो ।

“हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ”, उहाँले भन्नुभयो । प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने बताउनुहुँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ विश्वविद्यालयका उपकूलपति प्रा डा भोला थापाले विश्वविद्यालयको काम शिक्षा र सेवा दिने मात्रै हैन अनुसन्धान गर्ने पनि हो भन्ने धारणा राख्नुभयो ।

“नौलो र नवीन काम गर्न डराउनुहुँदैन, विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन उच्चशिक्षा पनि राम्रो हुनुपर्छ, देशको उन्नति र स्रोतसाधनको उपयोगका लागि ध्यान दिनुपर्छ । जिम्मेवारी, रणनीति योगदानको मूल्याङ्कन गर्दै नेपालको शिक्षालाई अगाडि बढाउने काममा हामीले गर्ने काम महत्वपूर्ण हुनेछ ।” प्रा डा थापाले भन्नुभयो ।

माध्यमिक शिक्षकको हैसियतभन्दा प्राविधिक धारका शिक्षा दिने इञ्जिनियरको मान्यता विद्यालय तहमा नहुनुले समस्या छ भन्नुहुँदै उहाँले विद्यार्थीले खोजेका चाहना पूरा गरेर ज्ञान पनि भरिदिनुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *