दक्षिण कोरियाली राष्ट्रपति युनविरुद्ध पक्राउ पुर्जी जारी

न्भेष्टाेपेपर । पुस १६, २०८१

सियोल । दक्षिण कोरियाली अदालतले महाअभियोग लगाइएका निलम्बित राष्ट्रपति युन सुक येओल विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार यो पक्राउ पुर्जी देशमा सैन्य शासन लागू गर्ने उनको छोटो प्रयासको सम्बन्धमा जारी गरिएको हो । 

युनले यस महिना नागरिक शासनलाई केही समयका लागि निलम्बन गरेका थिए । यसले दक्षिण कोरियालाई दशकौँको सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको थियो । उनको उक्त कार्यलाई लिएर संसद्ले उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटायो तर महाभियोग पुष्टि गर्ने कि नगर्ने संवैधानिक अदालतको फैसला विचाराधीन छ । “संयुक्त अनुसन्धान मुख्यालयले अनुरोध गरेबमोजिम राष्ट्रपति युन सुक येओलका लागि पक्राउ पुर्जी र खानतलासी पुर्जी आज बिहान जारी गरिएको छ”, संयुक्त अनुसन्धान मुख्यालयले एक विज्ञप्तिमा भनेको छ । 

दक्षिणपन्थी नेता युनले विद्रोहको आपराधिक आरोपको सामना गरिरहेका छन् । यसको परिणाम आजीवन कारावास वा मृत्युदण्डसमेत हुनसक्छ । निलम्बित राष्ट्रपति तेस्रो पटक सोधपुछका लागि उपस्थित हुन असफल भएपछि अनुसन्धानकर्ताहरूले सोमबार पक्राउ पुर्जीको माग गरेका थिए । “व्यक्तिले न्यायोचित कारणहरू बिना समनको पालना गर्न अस्वीकार गर्नसक्ने चिन्ताका कारण पक्राउ पुर्जी जारी गरिएको हो र त्यहाँ अपराध भएको शङ्का गर्न पर्याप्त सम्भावित कारण छ”, युनलाई प्रहरी चौकी वा सियोल हिरासत केन्द्रमा राख्न सकिने जानकारी दिँदै भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ) का एक अधिकारीले मङ्गलबार पत्रकार सम्मेलनमा भने, “पक्राउ पुर्जी जनवरी ६ सम्म मान्य छ ।” 

युनका वकिलले अनुसन्धानकर्ताहरूसँग राष्ट्रपतिको जाँच गर्ने अधिकार नभएको बताउँदै महाअभियोग लगाइएका राष्ट्रपतिको पक्राउ पुर्जीलाई ‘गैरकानूनी र अमान्य’ भनेका छन् । “अनुसन्धान गर्ने अधिकार नभएको निकायको अनुरोधमा जारी गरिएको पक्राउ पुर्जी र खानतलासी तथा जफत पुर्जी गैरकानूनी र अमान्य छन्”, वकिल युन काब–केउनले एएफपीलाई पठाएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ
पक्राउ पुर्जी जारी भए पनि अनुसन्धानकर्ताहरू र प्रहरीले यसलाई कार्यान्वयन गर्न सक्ने वा नसक्ने अस्पष्ट छ । राष्ट्रपति सुरक्षा सेवाले पहिले नै तीनओटा खानतलासी पुर्जी पालना गर्न अस्वीकार गरेको थियो । मङ्गलबार राष्ट्रपति सुरक्षा सेवाले स्थानीय सञ्चारमाध्यमलाई दिएको विज्ञप्तिमा भनिएको छ, “पुर्जीको कार्यान्वयन सम्बन्धी सुरक्षा उपायहरू कानूनी प्रक्रिया अनुसार गरिनेछ ।” तर डेमोक्रेटिक सोसाइटीका वकिलहरूका अध्यक्ष वकिल युन बोक–नामले खानतलासी पुर्जी अस्वीकार गर्न कानूनी आधार भए पनि ‘पक्राउ पुर्जीका लागि त्यस्तो कुनै प्रावधान छैन’ भने । 

“म (पक्राउ) प्रक्रिया सहज रूपमा अघि बढ्ने अपेक्षा गर्छु”, उनले भने । साथै उनले पुर्जी सामान्यतया सात दिनसम्म मान्य हुने र त्यस अवधिभित्र कार्यान्वयन गर्नुपर्ने जानकारी दिए । सम्भावित झडपहरूलाई रोक्ने प्रयासमा सियोलको केन्द्रमा रहेको युनको निवास बाहिर मङ्गलबार बिहानै प्रहरी परिचालन गरिएको थियो । युनका समर्थक र उनलाई हटाउन माग गर्ने प्रदर्शनकारीहरू दुवैले उनको निवास घेरेका छन् । 

स्थानीय सञ्चारमाध्यमले रातभर दुई समूहबीच भएका झडपका तस्बिरहरू प्रसारण गरेका छन् । “अनुचित र अवैध पक्राउ पुर्जीको विरोधमा तीन हजारसम्म मानिस प्रदर्शनमा उत्रनेछन्”, युनलाई समर्थन गर्ने सबैभन्दा ठूलो विरोध समूहका एक अधिकारीले भने । स्थानीय सञ्चारमाध्यमका अनुसार अनुसन्धानकर्ताहरूले राष्ट्रपति सुरक्षा सेवासँग समन्वय गर्न खोज्ने भएकाले तत्काल पक्राउ वा राष्ट्रपति निवासको खानतलासी हुने सम्भावना कम छ । प्राविधिक रूपमा पक्राउ पुर्जीको कार्यान्वयनमा बाधा पुर्‍याउने जोसुकैलाई पक्राउ गर्न सकिन्छ ।     
     
संयुक्त अनुसन्धान 
एएफपीले हेरेको १० पृष्ठको अभियोजकको प्रतिवेदनमा युनले आफ्नो असफल मार्सल ल प्रयासका क्रममा आवश्यक परे संसद्मा प्रवेश गर्न सेनालाई हतियार प्रयोग गर्न अधिकार दिएको उल्लेख छ । युनका वकिलले पहिले नै अभियोजकहरूको प्रतिवेदनलाई खारेज गर्दै ‘यो वस्तुगत परिस्थिति वा सामान्य ज्ञानसँग मेल नखाने एकपक्षीय विवरण हो’ भनेका थिए । युनले डिसेम्बर ३ मा अघोषित टेलिभिजन सम्बोधनमा ‘राज्य विरोधी तत्वहरू’ लाई उन्मूलन गर्ने लक्ष्य राखेको भन्दै मार्सल लको घोषणा गरेका थिए । 

घोषणा भएको केही मिनेटमै सांसदहरू संसद्मा पुगेर यसलाई अस्वीकार गर्न मतदान गरेका थिए । त्यसै समयमा पूर्ण हतियारधारी सैनिकहरूले भवनमा धावा बोले, बार नाघे, झ्यालहरू फोरे र हेलिकप्टरबाट अवतरण गरे । अभियोजन अभियोगपत्र अनुसार युनले राजधानी रक्षा कमाण्डका प्रमुख ली जिन–वूलाई राष्ट्रिय सभामा प्रवेश गर्न आवश्यक परेमा सैन्य बलले गोली चलाउन सक्ने बताएका थिए । मार्चको शुरुमा युनले वरिष्ठ सैन्य अधिकारीहरूसँग मार्सल ल घोषणा गर्नेबारे छलफल गरिरहेको प्रमाण रहेको पनि प्रतिवेदनमा उल्लेख छ । 

युनको प्रतिस्थापनमा आएका हान डक–सूलाई पनि युनको अनुसन्धानका लागि विधेयकहरूमा हस्ताक्षर नगरेको आरोपमा संसद्ले महाभियोग लगाएपछि दक्षिण कोरियाको राजनीतिक सङ्कट गत हप्ताको अन्त्यमा झन् गहिरियो । अर्थमन्त्री चोई साङ–मोकले नयाँ कार्यवाहक राष्ट्रपतिको रूपमा पदभार सम्हालेका छन् । उनलाई आइतबार १७९ जनाको ज्यान लिने जेजु एयर विमान दुर्घटनाको विपत्तिसँग तत्काल जुध्नु परेको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *