मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

न्भेष्टाेपेपर ।  चैत १४, २०८१

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि  थप प्रोत्साहन गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारले विदेशी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ । जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ ।” 

मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर थप बलियो र मैत्रीपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्मा जापानी जनता, सरकार, गैरसरकारी संस्था र विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन् । नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्तव दिँदै आएको छ ।”

मन्त्री यादवले जापान सरकारले विगतदेखि नेपालका खानेपानी परियोजनामा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराउनुभयो । त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको सहयोग रहेको भन्दै उहाँले जापान सरकारलाई विशेष धन्यवाद दिनुभएको थियो ।

सोही अवसरमा राजदूत तोरूले जापान सरकार नेपालमा विगतदेखि विभिन्न विकासका परियोजनामा संलग्न रहँदै आएको बताउँदै आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ ।” (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *