नेपाल निर्माणमा मुस्लिम समुदायको पनि महत्वपूर्ण योगदान छ : राष्ट्रपति पौडेल

न्भेष्टाेपेपर ।  जेठ  २, २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल निर्माणमा मुस्लिम समुदायको पनि महत्वपूर्ण योगदान रहेको बताउनुभएकाे छ। उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता रहेको नेपालमा मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताउनुभयाे।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा मक्का मदिनामा यस वर्ष हज गर्न जान लागेका हजयात्रीलाई शुभकामना दिने क्रममा यस्तो धारणा राख्नुभएकाे हाे।

‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवर्द्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनःशुभकामना व्यक्त गर्दछु,’ उहाँले भन्नुभयाे।

उहाँले परापूर्वकालदेखि नै नेपाल राज्य निर्माणमा यो समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयाे। ‘पवित्र आस्था र विश्वास बोकेर जाने हजयात्रीहरूको सहजताका लागि सबै खालको सुविधा उपलब्ध गराउन सम्बन्धित निकायले ध्यान दिने नै छ भन्ने मैले विश्वास लिएको छु, हजलाई व्यवस्थित रुपबाट सञ्चालन गर्न समयानुकूल आवश्यक नीति, नियम र प्रबन्ध मिलाउनुपर्नेतर्फ सरोकारवालाको ध्यानाकर्षण गराउन चाहन्छ,’ उहाँले भन्नुभयाे।

त्यस अवसरमा राष्ट्रपति पौडेलले हजयात्रीलाई गम्छा र टोपी लगाएर शुभकामना दिनुभएएकाे थियाे। मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष मोहमुद्दिन मियाँले राष्ट्रपतिबाट पहिलोपटक यसरी हजयात्रीलाई हजयात्राका लागि राष्ट्रपति भवनमा शुभकामनासहित बिदाइ गरिनु गौरवको विषय भएको बताउनुभयाे।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *