सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने

इन्भेष्टाेपेपर ।  असार २०, २०८३

काठमाडौँ । सरकारले नेपाललाई आरोग्य पर्यटनको गन्तव्य मुलुकका रुपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाललाई आरोग्य पर्यटनको गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले उक्त योजना अघि सारिएको बताउनुभयो ।

नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले प्रत्येक वर्षको अप्रिल १५ लाई विश्व आरोग्य दिवस मनाउने घोषणा गरिसकेको छ ।

उक्त दिवसलाई मुलुकभर अभियानका रुपमा सञ्चालन गर्ने, ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने दूरदृष्टिसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६ देखि २०३५ सम्म) तथा यससम्बन्धी कार्ययोजना (सन् २०२६ देखि २०३० सम्म) जारी भइसकेको मन्त्री पोखरेलले बताउनुभयो ।

उहाँले सन् २०३० सम्ममा कुल अन्तरराष्ट्रिय पर्यटक आगमनमा आरोग्य पर्यटकको हिस्सा ११ प्रतिशत पुर्‍याउने सरकारले लक्ष्य लिएको उल्लेख गर्नुभयो । साथै सन् २०३५ सम्ममा पर्यटकको सन्तुष्टिस्तर ८.५ र १० कायम गर्ने समेत सरकारको योजना रहेको उहाँको भनाइ छ ।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धित १०० बुँदामा आरोग्य पर्यटनसम्बन्धी आवश्यक व्यवस्था गर्ने उल्लेख गरेको थियो ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *