एक चीन नीतिमा अडिग रहन सरकारलाई पूर्वराजदूतहरूको संयुक्त अपील
इन्भेष्टाेपेपर । असार २५, २०८३
काठमाण्डौ । चीनका लागि नेपालका ७ जना पूर्वराजदूतहरूले एक चीन नीतिप्रति प्रतिबद्ध रहन सरकारलाई अपील गरेका छन् ।
पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टङ्क कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले संयुक्त अपील निकाल्दै हालै भएको एक घटनाले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठ्न सक्ने बताएका हुन् । उनीहरूले असार २२ गते नागार्जुन नगरपालिका–२ नामग्याल विद्यालयमा १४ औँ दलाई लामाको ९९औँ जन्मोत्सव मनाइएको तथा कार्यक्रममा विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत सहभागिता रहेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
संयुक्त अपीलमा नेपालले विगतदेखि नै एक चीन नीति अवलम्बन गर्दै आफ्नो भूमि कुनै पनि मित्र राष्ट्रविरुद्ध प्रयोग हुन नदिने अडान दोहोर्याउँदै आएको स्मरण गराइएको छ । हालै परराष्ट्रमन्त्रीको चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै पूर्वराजदूतहरूले पछिल्लो घटनाले नेपालको परराष्ट्र नीति परिवर्तन भएको हो भन्ने आशङ्का उत्पन्न गर्न सक्ने बताएका छन् ।
कार्यक्रम सरकारी सहमतिमा आयोजना भएको हो भने त्यसले नेपाल–चीन सम्बन्धको आधारभूत विश्वासमा असर पुर्याउन सक्ने र नेपालको भूराजनीतिक सन्तुलनसमेत कमजोर बन्न सक्ने उनीहरूको चेतावनी छ । पूर्वराजदूतहरूले यस्ता गतिविधि नेपालको स्थायित्व, विकास र राष्ट्रिय हितका लागि प्रत्युत्पादक हुन सक्ने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकार र सरोकारवाला पक्षसँग आग्रह गरेका छन् ।
साथै, छिमेकी देशसँगको सम्बन्धप्रति संवेदनशील रहँदै दीर्घकालीन राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । याे समाचार उज्यालाे खवर पत्रिकामा प्रकाशित भएकाे छ ।
