बनेन पीपीए मापदण्ड: १७ हजार मेगावाट आयोजना अलपत्र
इन्भेष्टाेपेपर । मंसिर १२, २०८३
काठमाडौं । झन्डै दुईतिहाइ बहुमतसहित चैत १३ गते वर्तमान सरकार गठन भयो। गठन भएको भोलिपल्टै चैत १४ गते सार्वजनिक गरिएको सरकारको १०० बुँदे कार्ययोजनामा १ सय ८० दिनभित्र विचाराधीन रहेका सबै विद्युत् खरिद सम्झौता (पीपीए) र अनुमतिपत्रको निर्णय गरिसक्ने उल्लेख थियो। तर, सरकार बनेको आठ महिना पुग्न लाग्दासमेत पीपीएको मापदण्डसमेत बन्न सकेको छैन।
चालु आर्थिक वर्षको बजेटमा पनि ‘टेक अर पे’ प्रावधानअन्तर्गत १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको पीपीए तत्काल गर्ने घोषणा गरिएको थियो। बजेट सार्वजनिक भएको चार महिना बितिसक्दा पनि उक्त घोषणा कार्यान्वयनमा आउन सकेको छैन। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वाचापत्रमा समेत ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य समेटिएको छ।
उपसमिति गठन तर प्रतिवेदन अपूरो
भदौ ४ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले पीपीए मापदण्ड तय गर्न उपसमिति गठन गरेको थियो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित उक्त उपसमितिलाई सात दिनभित्र मापदण्ड तयार गरी सञ्चालक समितिमा पेस गर्ने कार्यादेश दिइएको थियो। तर, करिब तीन महिना बितिसक्दा पनि उपसमितिले मापदण्डलाई अन्तिम रूप दिन सकेको छैन।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार हाल १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना पीपीएको पर्खाइमा छन्। इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तमभ्लोन लामाले सरकारी अदूरदर्शिताका कारण पीपीए रोकिँदा ऊर्जा व्यवसायीको ठूलो लगानी जोखिममा परेको बताए। ‘सरकारी निकायपिच्छे फरक–फरक बुझाइ हुँदा काम अघि बढ्न सकेन,’ उनले भने।इप्पानका अध्यक्ष मोहन डाँगीले पीपीए खुल्न ढिलाइ हुनुको कारण व्यवसायीलाई भन्दा सरकारलाई सोध्नुपर्ने बताए। उनले भने, ‘म आफैं पनि सरकारलाई पीपीए खुलाउन किन ढिलाइ गरियो भनेर प्रश्न गरिरहेको छु।’
गोप्य मस्यौदामा निजी क्षेत्रको आपत्ति र पुनर्लेखनमा सहमति
केही साताअघि समितिकै पदाधिकारीको संलग्नतामा पीपीएको मस्यौदा मापदण्ड अनौपचारिक रूपमा बाहिरिएको थियो। निजी क्षेत्रको प्रतिक्रिया बुझ्ने उद्देश्यले ‘ट्रायल’ का रूपमा बाहिर ल्याइएको उक्त मस्यौदाप्रति ऊर्जा व्यवसायीले कडा असहमति जनाए।
मस्यौदामा समेटिएका प्रावधानले पीपीएलाई व्यवस्थित बनाउनुको साटो रोक्ने उद्देश्य राखेको निष्कर्ष इप्पान कार्यसमितिले निकालेको थियो। लगत्तै इप्पान अध्यक्ष डाँगीसहितको टोलीले ऊर्जामन्त्री श्रेष्ठलाई भेटी मस्यौदाप्रति असहमति जनाएको थियो।
मन्त्रीसँग तीन–चार घण्टा चलेको छलफलपछि प्राधिकरणले तयार पारेको उक्त प्रारूप तत्काल अघि नबढाउने र निजी क्षेत्रसँगको परामर्श तथा सहमतिमा पुनर्लेखन गर्ने समझदारी भएको अध्यक्ष डाँगीले जानकारी दिए।‘मन्त्रीज्यूले निजी क्षेत्रको धारणा र सहमति लिएरमात्रै प्रारूप पारित गर्नुपर्ने बताउनु भएको छ,’ डाँगीले भने, ‘अब निजी क्षेत्रसँगको छलफलपछि मात्रै नयाँ मापदण्ड तयार हुनेछ।’
के थियो प्राधिकरणको प्रस्तावित प्रारूपमा ?
प्राधिकरणले तयार पारेको विवादित मस्यौदामा पीपीएका लागि न्यूनतम योग्यता परीक्षणसहित १०० पूर्णांकको मूल्यांकन र ‘ए’ देखि ‘डी’ वर्गसम्म वर्गीकरण गर्ने प्रस्ताव थियो। जसमा प्रणालीगत योगदान र प्रसारण पूर्वाधारको अवस्थालाई ३०–३० अंक, जोखिम बाँडफाँटलाई २५ अंक, आयोजनाको तयारी, जलवायु उत्थानशीलता र रणनीतिक महत्वलाई ५–५ अंक दिइने उल्लेख थियो।
यस्तै, सुक्खायाममा कम्तीमा ३० प्रतिशत ऊर्जा उत्पादन हुनुपर्ने, वर्षायामको ‘टेक अर पे’ हिस्सा घटाउने आयोजनालाई बढी अंक दिने तथा कमजोर कार्यसम्पादन भएका र अनुमतिपत्रको किनबेचमा संलग्न प्रवद्र्धकलाई नकारात्मक अंक दिने व्यवस्था प्रस्ताव गरिएको थियो।
प्रस्तावअनुसार ८० देखि १०० अंक ल्याउने आयोजनालाई ‘ए’ वर्गमा राखी प्राथमिकता दिने, ६५ देखि ७९ अंक ल्याउनेलाई सर्तसहित पीपीए गर्ने र ५० अंकभन्दा कम ल्याउने आयोजनासँग पीपीए नगर्ने उल्लेख थियो। तर, ‘ए’ वर्गमा परेका आयोजनाले समेत स्वतः पीपीएको अधिकार नपाउने प्रावधान राखेपछि निजी क्षेत्र थप सशंकित बनेको थियो।
अध्ययन समिति र प्रतिवेदनको अवस्था
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहायक प्रवक्ता शालिकराम भण्डारीले पीपीए खुलाउने विषयमा ऊर्जामन्त्री सकारात्मक रहे पनि सरोकारवालासहितको समितिले अन्तिम प्रतिवेदन नबुझाएका कारण निर्णयमा ढिलाइ भएको बताए। हाल पीपीए मापदण्ड र प्रक्रियाका सम्बन्धमा छुट्टाछुट्टै समितिले अध्ययन गरिरहेका छन्। जसअनुसार १० मेगावाटभन्दा माथिका आयोजनाका लागि अंशुकिरण शाही र १० मेगावाटभन्दा मुनिका आयोजनाका लागि शम्भु केसीको संयोजकत्वमा गठित समितिले काम गरिरहेका छन्।
यस्तै, जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले ‘जेनेरेसन मिक्स’ (ऊर्जा मिश्रण) र ऊर्जा नीति परिमार्जनको अध्ययन गरिरहेको छ। सरोकारवालासँग छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेकाले ठोस मोडालिटी तय हुन समय लागेको मन्त्रालयको भनाइ छ।
कोटा पूर्ण हुनु र विकल्पहरूको खोजी
मन्त्रालय स्रोतका अनुसार पीपीए पूर्ण रूपमा बन्द भएको नभई नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) आयोजनाको निर्धारित कोटा पूरा भएकाले रोकिएको हो। जलाशययुक्त आयोजनाको पीपीए भने नियमित नै छ। कोटा पूरा भएकाले अब पीपीए खुलाउन मन्त्रालयले विभिन्न विकल्पमा छलफल अघि बढाएको छः
१० मेगावाटमुनिका आयोजनाः २०८३ असार मसान्तसम्म ‘कनेक्सन एग्रिमेन्ट’ (प्रसारण सम्झौता) भइसकेका १० मेगावाटभन्दा मुनिका आयोजनालाई विशेष मापदण्डबिना नै पीपीए गरिदिने विषयमा छलफल भइरहेको छ।
जेनेरेसन मिक्सको सीमा वृद्धिः हाल कायम २८ हजार ५०० मेगावाटको ‘जेनेरेसन मिक्स’ को सीमा बढाएर ३० हजार मेगावाट पुर्याउने र सोही आधारमा पीपीए खुलाउने विकल्पमा काम भइरहेको छ।
प्राथमिकता र वित्तीय भारको अध्ययनः देशको आवश्यकता (निड बेस) का आधारमा आयोजनाको प्राथमिकीकरण (र्यांकिङ) गर्ने तथा पीपीए खुलाउँदा प्राधिकरणलाई पर्न सक्ने वित्तीय जोखिम र लाभको लेखाजोखा गरेरमात्र अघि बढ्ने तयारी छ।
यसका साथै, विद्युत् व्यापार (पावर ट्रेड) का लागि अनुमति पाएका निजी कम्पनीहरूमार्फत बजार खोजेर पीपीए गर्ने विकल्पसमेत खुला राखिएको छ। बजारमा बाहिरिएका मस्यौदाहरू प्रारम्भिक छलफलका विकल्पमात्र भएको स्पष्ट पार्दै सहायक प्रवक्ता भण्डारीले समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त हुनासाथ पीपीए प्रक्रियाले गति लिने बताए। याे समाचार अन्नपूर्ण पाेष्ट दैनिकमा प्रकाशित भएकाे छ ।
