कप्तान रोड्रीलाई गोल्डेन बल, गोल्डेन बुट बाहेक अरू सवै उपाधि स्पेनका खेलाडीकाे पोल्टामा
इन्भेष्टाेपेपर । साउन ४, २०८३
काठमाण्डाैँ । स्पेनका कप्तान रोड्रीले विश्वकप फुटबल २०२६ को गोल्डेन बलको अवार्ड जित्नुभएकाे छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा उहाँलाई फाइनल खेलपछि सोमबार गोल्डेन बल अवार्ड प्रदान गरिएको हो ।
रोड्रीको कप्तानीमा स्पेनले अतिरिक्त समयमा धकेलिएको फाइनलमा अर्जेन्टिनालाई १–० गोलले पराजित गरी दोस्रोपटक विश्वकप उपाधि जितेको हाे । स्पेनले २०१० यता पहिलोपटक विश्वकप उपाधि जितेको हो ।
विश्वकप गोल्डेन बुट अवार्ड फ्रान्सका कप्तान केलियन एमबाप्पेले जित्नुभएको छ । एमबाप्पेले सर्वाधिक १० गोल गर्दै यस पुरस्कार जित्नुभएको हो । उहाँ लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने खेलाडी समेत बन्नुभएको छ ।
गोल्डेन बुट बाहेक अरू सवै उपाधि स्पेनका खेलाडिकाे पोल्टामा पर्याे।
गोल्डेन ग्लोभ (सर्वोत्कृष्ट गोलरक्षक) स्पेनका उनाई सिमोनलाई प्रदान गरियो । प्रतियोगिताभर निर्णायक बचाउ गर्दै उहाँले स्पेनलाई विश्वविजेता बनाउन महत्वपूर्ण भूमिका खेलेवापत पुरष्कृत गरियाे । स्पेनले यस विश्वकपको ८ खेलमा केवल १ गोलमात्र खर्चेको थियो ।
सर्वोत्कृष्ट युवा खेलाडी (फिफा योङ प्लेयर) को उपाधि स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुर्बासीले जित्नुभयो ।
यस्तै, फेयर प्ले ट्रफी (अनुशासित टोली) स्पेनले नै जित्यो । यससँगै टोलीगत उपाधि, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट युवा खेलाडी र फेयर प्ले अवार्ड गरी स्पेनले विश्वकपका अधिकांश प्रमुख सम्मान आफ्नो पक्षमा पार्न सफल भयो ।
