एल निनोले खाद्य सुरक्षामा जोखिम बढाउँदै

इन्भेष्टाेपेपर । आश्विन ६, २०८३

बान्तेन (इन्डोनेसिया) । यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डढेलोको जोखिम बढ्ने देखिएको छ । यसको असर धान, पाम तेल र माछालगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिइएको छ ।

एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुने प्राकृतिक जलवायु चक्र हो । यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, उष्ण लहर, बाढीलगायत चरम मौसमी घटना निम्त्याउने गर्छ । यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् २०२७ सम्म रहन सक्ने अनुमान गरिएको छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् २०२७ को अन्त्यसम्म कम्तीमा चार करोड ९० लाख मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्छन् । मध्य अमेरिका र दक्षिणी अफ्रिकाका साथै पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिणपूर्वी एसिया पनि प्रभावित हुने चेतावनी दिइएको छ । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनले सन् १९५० यता अभिलेख राख्न थालिएपछि यस पटककै शक्तिशाली एल निनो बन्ने सम्भावना ६९ प्रतिशत रहेको जनाएको छ ।

दक्षिणपूर्वी एसियामा यसको प्रभाव देखिन थालिसकेको छ । इन्डोनेसियाका जङ्गल तथा पिटभूमिमा डढेलो फैलिएको, जकार्तालाई पानी आपूर्ति गर्ने जलाशयको सतह घटेको र माछा उत्पादन प्रभावित भएको छ । इन्डोनेसियाको मौसम तथा वातावरण अनुसन्धान केन्द्रकी एर्मा युलिहास्टिनले एल निनोले ‘अत्यधिक प्रभावको चरण’ सुरु गरेको बताउनुभयो ।

मेकोङ नदीमा पानीको बहाव घट्दा माछा मार्ने र खेती गर्ने समुदाय थप समस्यामा परेका छन् । कम वर्षा र बढ्दो तापक्रमले यस क्षेत्रको महत्त्वपूर्ण प्रोटिन स्रोत माछा उत्पादनमा दबाब बढाएको छ । नेभाडा विश्वविद्यालयका अनुसन्धानकर्ता जेब होगनले अवस्थालाई ‘एकपछि अर्को मुक्का’ जस्तो भएको बताउनुभयो ।

धान उत्पादनमा कमी आए विश्व बजारसमेत प्रभावित हुन सक्छ । भारत, भियतनाम र थाइल्यान्ड विश्वका प्रमुख चामल निर्यातक हुन् र यी देश एल निनोबाट प्रभावित हुने अनुमान गरिएको छ । इन्डोनेसिया र मलेसियामा पनि पाम तेल उत्पादन जोखिममा परेको छ । यी दुई देशले विश्वको करिब ८५ प्रतिशत पाम तेल आपूर्ति गर्छन् ।

एसियाली सरकार युद्धका कारण बढेको इन्धन तथा मलको मूल्य र आपूर्ति समस्यासँग जुधिरहेका बेला एल निनोको थप दबाब सामना गर्नुपर्ने अवस्थामा छन् । एचएसबीसी ग्लोबल इन्भेस्टमेन्ट रिसर्चका अनुसार विगतका शक्तिशाली एल निनोबाट खर्बौं डलर बराबरको आर्थिक क्षति भएको थियो । गोल्डम्यान स्याक्सका विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढी बढ्न सक्ने अनुमान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय अधिकारी करेफ रफिसुराले कृषि उत्पादनमा आउने कमीले गरिबीको रेखामुनि रहेका मानिसलाई थप प्रभावित पार्न सक्ने बताउनुभयो । उहाँका अनुसार दक्षिणपूर्वी एसियाली देशले आफ्नो खाद्य उत्पादन जोगाउन सक्ने क्षमताले क्षेत्रीय मात्र नभई विश्व खाद्य बजारमा समेत प्रभाव पार्ने छ । (रासस/एपी) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *